साहित्यपोस्ट डट कम

कविता : रुख र आमा

कविता : रुख र आमा

रुख र आमा

दुवैको माया उस्तै

सुखको वर्षा !

कङ्क्रिटको जङ्गलमा हराउँदा

हरियालीको सपना

धुँवाले ढाक्छ आमाको अनुहार

सास फेर्न गाह्रो हुन्छ

र पनि बाँचिरहनुभएको छ आमा

मृत्युको पूर्वाभास बोकेर ।

आँधीमा रुमल्लिरहँदा

राजनीतिको बगैँचा

सुख्खा खेतमा हराइरहेछन्

सुख-समृद्धिका सपना।

देशको माटोमा अङ्कुराउन नपाई

हवाई यात्रामा निस्केका

युवाका सपना !

मौलिक परम्परागत ज्ञान बिर्सँदा

स्क्रिनको नीलो जालमा हराइरहेछ

नयाँ पुस्ताको आकाश

सुकेका पातझैँ ‘स्क्रोल’ भइरहेछ

स्पर्शको बदलामा भर्चुअल मुस्कान ।

हिउँदको कुहिरोमा हराएको गाउँमा

आमाको आँसुले निभेको चुल्होबाट

उडेको धुँवासँगै हराएको सद्भाव

फेरि फर्काउन

कविताले बाल्नुपर्छ

त्यो सेलाएको आगो ।

शरद् लाग्नुअगावै

हुरीले भत्काएको चराको गुँडसँगै

टुक्रिएको सहकार्य

फेरि कविताले जोड्नुपर्छ ।

सद्भाव र सहकार्यको गीत गाउँदै

मानव मूल्य बिर्सिएको समाजलाई

सुधारको बाटो देखाउन

कवि र कविताले

फेरि उमार्नुछ पर्याप्रेम जरैसम्म।

कुहिरो हट्दा

सत्य उज्यालो बन्छ

रुख र आमा !

ट्याग: शरदशोभा
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.