रुख र आमा
दुवैको माया उस्तै
सुखको वर्षा !
कङ्क्रिटको जङ्गलमा हराउँदा
हरियालीको सपना
धुँवाले ढाक्छ आमाको अनुहार
सास फेर्न गाह्रो हुन्छ
र पनि बाँचिरहनुभएको छ आमा
मृत्युको पूर्वाभास बोकेर ।
आँधीमा रुमल्लिरहँदा
राजनीतिको बगैँचा
सुख्खा खेतमा हराइरहेछन्
सुख-समृद्धिका सपना।
देशको माटोमा अङ्कुराउन नपाई
हवाई यात्रामा निस्केका
युवाका सपना !
मौलिक परम्परागत ज्ञान बिर्सँदा
स्क्रिनको नीलो जालमा हराइरहेछ
नयाँ पुस्ताको आकाश
सुकेका पातझैँ ‘स्क्रोल’ भइरहेछ
स्पर्शको बदलामा भर्चुअल मुस्कान ।
हिउँदको कुहिरोमा हराएको गाउँमा
आमाको आँसुले निभेको चुल्होबाट
उडेको धुँवासँगै हराएको सद्भाव
फेरि फर्काउन
कविताले बाल्नुपर्छ
त्यो सेलाएको आगो ।
शरद् लाग्नुअगावै
हुरीले भत्काएको चराको गुँडसँगै
टुक्रिएको सहकार्य
फेरि कविताले जोड्नुपर्छ ।
सद्भाव र सहकार्यको गीत गाउँदै
मानव मूल्य बिर्सिएको समाजलाई
सुधारको बाटो देखाउन
कवि र कविताले
फेरि उमार्नुछ पर्याप्रेम जरैसम्म।
कुहिरो हट्दा
सत्य उज्यालो बन्छ
रुख र आमा !

