रुख
रुखको आफ्नै भाषा हुन्छ
ऊ बोल्छ ।
पहिलो पटक रुख फूल फुल्दा बोल्छ
दोस्रो पटक फल फल्दा बोल्छ
तेस्रो पटक ढल्दा बोल्छ
र अन्तिम पटक आफू बल्दा बोल्छ ।
स्राप
जहाँ चिताले सतीलाई जलाए पनि
सतीको स्राप नजलेको कथा छ
म त्यो देशको नागरिक हुँ
लाग्छ अहिले पनि
मेरो शरीरमा आगोको राप छ
र शिरमा सतीको श्राप छ ।

