साहित्यपोस्ट डट कम

कविता : रोक्नुस् न दाइ

कविता : रोक्नुस् न दाइ

बाटो सुनसान थियो

वरिपरि जङ्गल

चराहरूको चिरबिर थियो

मृगका मीठा आवाज थिए ।

म बाइकमा हुइँकिरहेको थिएँ

अचानक

बाटोको डिलमा बसेकी चेलीले भनिन्

“रोक्नुस् न दाइ…”

“दाइ, रोक्नुस् न…”

“पख्नुस् न दाइ…”

“मेरो कुरा त सुन्नुस्…”

उनका हल्का आत्तिएजस्ता

ती सुरिला बोली

उनको अनुनय

उनको विनयले

सुरुमा मलाई “किन होला ?” भयो

“रोकूँ कि नरोकूँ ?” भयो

तर

उनको अनुनयले नरोक्न सकिनँ

सरासर जान सकिनँ ।

“आपतमा त छैनन् ?

केही दुःख छ कि ?

समस्या पर्यो कि ?”

मेरो कोमल मनमा

मानवता पलायो

मैले रोकेँ ।

उनी बिस्तारै नजिक आइन्

आँखाभरि डर बोकेर ।

“दाइ… डर लाग्यो…”

उनले काँपेको स्वरमा भनिन्

“त्यो सुनसान बाटोमा…

कसैले पछ्याउँदै छ जस्तो लाग्यो…”

म एकछिन चुप लागेँ

र बिस्तारै भनेँ

“डराउनु पर्दैन बहिनी

अब म छु ।”

उनी केही बोलिनन्

तर

आँखाभित्रैबाट

धन्यवाद बगिरहेको थियो ।

त्यो सुनसान बाटोमा

हामी दुई जना मात्र थियौँ

तर

त्यो क्षणमा

मानवता हाम्रो साथमा थियो ।

सायद

कहिलेकाहीँ

एउटा “म छु” भन्ने शब्दले

मानिसलाई फेरि बाँच्ने हिम्मत दिन्छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.