बाटो सुनसान थियो
वरिपरि जङ्गल
चराहरूको चिरबिर थियो
मृगका मीठा आवाज थिए ।
म बाइकमा हुइँकिरहेको थिएँ
अचानक
बाटोको डिलमा बसेकी चेलीले भनिन्
“रोक्नुस् न दाइ…”
“दाइ, रोक्नुस् न…”
“पख्नुस् न दाइ…”
“मेरो कुरा त सुन्नुस्…”
उनका हल्का आत्तिएजस्ता
ती सुरिला बोली
उनको अनुनय
उनको विनयले
सुरुमा मलाई “किन होला ?” भयो
“रोकूँ कि नरोकूँ ?” भयो
तर
उनको अनुनयले नरोक्न सकिनँ
सरासर जान सकिनँ ।
“आपतमा त छैनन् ?
केही दुःख छ कि ?
समस्या पर्यो कि ?”
मेरो कोमल मनमा
मानवता पलायो
मैले रोकेँ ।
उनी बिस्तारै नजिक आइन्
आँखाभरि डर बोकेर ।
“दाइ… डर लाग्यो…”
उनले काँपेको स्वरमा भनिन्
“त्यो सुनसान बाटोमा…
कसैले पछ्याउँदै छ जस्तो लाग्यो…”
म एकछिन चुप लागेँ
र बिस्तारै भनेँ
“डराउनु पर्दैन बहिनी
अब म छु ।”
उनी केही बोलिनन्
तर
आँखाभित्रैबाट
धन्यवाद बगिरहेको थियो ।
त्यो सुनसान बाटोमा
हामी दुई जना मात्र थियौँ
तर
त्यो क्षणमा
मानवता हाम्रो साथमा थियो ।
सायद
कहिलेकाहीँ
एउटा “म छु” भन्ने शब्दले
मानिसलाई फेरि बाँच्ने हिम्मत दिन्छ ।

