सिंहासनमाथि हाँसो हल्लिन्छ
भुइँमा जनता आँसु सेक्छन् ।
नारा मीठा, वाचा चम्किन्छन्
भोलि फेरि अँध्यारो तल्लिन्छ ।
मतपत्रमा सपना सजिन्छ
विश्वासमा भविष्य बुझिन्छ ।
गणनाको रात नटप्दै
आशा आफैँ हराइन्छ ।
यहाँ विचार होइन, व्यापार बिक्छ
आस्था मात्रै होइन, अङ्कुर मर्छ ।
सत्य सडकमा रगत बगाउँछ
झूट दरबारमा बसेर गर्जन्छ ।
कुर्सी बलियो, मेरुदण्ड गल्छ
लज्जा बेचेर सत्ता साटिन्छ ।
भोकले मर्ने बालकको पीडामा
भाषणको पोस्टर टाँसिन्छ ।
जनताको आँसु अन्धकारमा हराउँछ
क्यामेराको उज्यालोमा नाटक जन्मिन्छ ।
यहीँ रोएको राजनीति बिक्छ
जहाँ देश होइन, स्वार्थ नै जित्छ ।
कहिले यो गुट, कहिले उ गुट परिवर्तन हुन्छ
आफ्नो स्वार्थ पूरा भए जनता भाँडामा हाल्छन् ।
वाद–विवादमा मात्रै चुलबुल देखिन्छ
तर जनताको पीडा सधैँ अँध्यारोमा हराउँछ ।
गठबन्धन पछि ठगबन्धन कहलिन्छ
जनता हेरेको हेर्यै मौनमै बलिन्छन् ।
नेता सबै मिलेर स्वार्थमै तल्लीन छन्
लोकतन्त्रको नाममा सपना नै गलिन्छन् ।

