साहित्यपोस्ट डट कम

कविता : रोएको राजनीति

कविता : रोएको राजनीति

सिंहासनमाथि हाँसो हल्लिन्छ

भुइँमा जनता आँसु सेक्छन् ।

नारा मीठा, वाचा चम्किन्छन्

भोलि फेरि अँध्यारो तल्लिन्छ ।

मतपत्रमा सपना सजिन्छ

विश्वासमा भविष्य बुझिन्छ ।

गणनाको रात नटप्दै

आशा आफैँ हराइन्छ ।

यहाँ विचार होइन, व्यापार बिक्छ

आस्था मात्रै होइन, अङ्कुर मर्छ ।

सत्य सडकमा रगत बगाउँछ

झूट दरबारमा बसेर गर्जन्छ ।

कुर्सी बलियो, मेरुदण्ड गल्छ

लज्जा बेचेर सत्ता साटिन्छ ।

भोकले मर्ने बालकको पीडामा

भाषणको पोस्टर टाँसिन्छ ।

जनताको आँसु अन्धकारमा हराउँछ

क्यामेराको उज्यालोमा नाटक जन्मिन्छ ।

यहीँ रोएको राजनीति बिक्छ

जहाँ देश होइन, स्वार्थ नै जित्छ ।

कहिले यो गुट, कहिले उ गुट परिवर्तन हुन्छ

आफ्नो स्वार्थ पूरा भए जनता भाँडामा हाल्छन् ।

वाद–विवादमा मात्रै चुलबुल देखिन्छ

तर जनताको पीडा सधैँ अँध्यारोमा हराउँछ ।

गठबन्धन पछि ठगबन्धन कहलिन्छ

जनता हेरेको हेर्यै मौनमै बलिन्छन् ।

नेता सबै मिलेर स्वार्थमै तल्लीन छन्

लोकतन्त्रको नाममा सपना नै गलिन्छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.