म रित्तो छु
यसरी कि शब्दहरू पनि थाकेर
आँखामा बसेका छन् ।
छातीभित्र कतै केही भाँचिएको आवाज छ
तर त्यो सुन्ने कोही छैन ।
हाँसो ओढ्छु
तर त्यो हाँसोभित्र दिनदिनै म मर्छु ।
माया दिएँ
आफू बिर्सेर
अन्तत आफू नै हराएँ ।
सबैका लागि बलियो बनेँ
तर मेरो कमजोरी भने कसैले अँगाल्न सकेन।
रित्तो हुनु
खाली हुनु होइन रहेछ
यो त असङ्ख्य पीडाले भरिएको मौन रहेछ।
रात आउँछ
निद्रा आउँदैन ।
आँसु खस्छ,
तर आवाज हुँदैन ।
आफैँसँग कुरा गर्छु “अझै कति सहने ?”
आज रित्तो छु
तर बाँचिरहेछु
किनकि यो पीडाले नै मलाई
मान्छे बनाएको छ।
सायद एक दिन
यो रित्तोपनमै म फेरि
आफूलाई भेट्नेछु
किनकि सबैभन्दा गहिरो खालीपनमै
सबैभन्दा साँचो भाव रहेछ !

