साहित्यपोस्ट डट कम

कविता : रित्तो

कविता : रित्तो

म रित्तो छु

यसरी कि शब्दहरू पनि थाकेर

आँखामा बसेका छन् ।

छातीभित्र कतै केही भाँचिएको आवाज छ

तर त्यो सुन्ने कोही छैन ।

हाँसो ओढ्छु

तर त्यो हाँसोभित्र दिनदिनै म मर्छु ।

माया दिएँ

आफू बिर्सेर

अन्तत आफू नै हराएँ ।

सबैका लागि बलियो बनेँ

तर मेरो कमजोरी भने कसैले अँगाल्न सकेन।

रित्तो हुनु

खाली हुनु होइन रहेछ

यो त असङ्ख्य पीडाले भरिएको मौन रहेछ।

रात आउँछ

निद्रा आउँदैन ।

आँसु खस्छ,

तर आवाज हुँदैन ।

आफैँसँग कुरा गर्छु “अझै कति सहने ?”

आज रित्तो छु

तर बाँचिरहेछु

किनकि यो पीडाले नै मलाई

मान्छे बनाएको छ।

सायद एक दिन

यो रित्तोपनमै म फेरि

आफूलाई भेट्नेछु

किनकि सबैभन्दा गहिरो खालीपनमै

सबैभन्दा साँचो भाव रहेछ !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.