साहित्यपोस्ट डट कम

कविता : रेखाभन्दा परको मान्छे

कविता : रेखाभन्दा परको मान्छे

रेल छुटेपछि बाँकी रहने

स्टेसनको सन्नाटा जस्तै

कहिलेकाहीँ मन पनि

आफ्नै यात्राबाट झरेर

कुनै अनाम प्लेटफर्ममा

एक्लै उभिन्छ…

भीडभित्र हिँड्दा मानिसहरू ठोक्किन्छन्

तर सम्बन्धहरू

छुनुअघि नै आफ्नै छायातर्फ फर्किन्छन्

जस्तो डुब्न लागेको सहरको

अन्तिम उज्यालो ।

कापीको किनारामा

गुरुले सच्याएका अक्षरहरू

अझै पनि बाल्यकालको न्यानो बोकेर बस्छन्

तर प्रमाणपत्रको चम्किलो फ्रेमले

ती अक्षरहरूको सास बिस्तारै थुन्छ

र शिष्य, आफ्नै सफलताको उज्यालोभित्र

अझै एक्लिँदै जान्छ

त्यो स्वर हराउँदै— जसले उसलाई

मान्छे बन्न सिकाएको थियो ।

मन्दिरका भर्‍याङहरू पाइलाले भरिन्छन्

प्रार्थनाले हावा तातिन्छ

तर फर्किँदा हातहरू

आफ्नै मौनताको भारी बोकेर

खाली झोलाजस्तै हलुका हुन्छन् ।

मेलापछिको मैदानमा हावा मात्र बाँकी रहन्छ

अधुरा हाँसोहरूको धड्कनसहित

र साँझले उत्सवको अन्तिम स्वर

बिस्तारै निभाइदिन्छ ।

चिया पसलको धुवाँभित्र गफहरू पग्लिँदै जान्छन्

शब्दहरू आफ्नै अर्थबाट टाढा सर्छन्

र रातले सबै स्मृतिलाई

नामविहीन बनाइदिन्छ ।

खोल्सो खाली भएपछि घोंगी आफ्नो घर बोकेर हिँड्छ

ढिलो… तर सुरक्षित ।

तर मानिस— घर भएर पनि

आफ्नो भित्रको मान्छे बोक्न सक्दैन ।

पुरानो घडी अझै टिक–टिक गर्छ

तर समय अब केवल घाउजस्तो लाग्छ

जहाँ सम्झनाहरू कारणबिना नै हराइदिन्छन् ।

यहाँ आँखा जुध्छन्— क्षणभर

हातहरू समातिन्छन्

तर सम्बन्ध, पानीमा लेखिएको अक्षरजस्तै

बिस्तारै मेटिन्छ ।

सबै कुरा पूरा हुनेबित्तिकै

छुट्ने अभ्यासमा छन् ।

तर

यदि कोही छ, जो भीड सकिएपछि पनि

तिम्रो मौनतामा बाँकी रहन्छ

जो उज्यालोभन्दा गहिरो अँध्यारोलाई पनि पढ्न सक्छ

जो शब्द हराए पनि तिम्रो भित्र बोलिरहन्छ

जो समयले होइन, अनुभूतिले चिनिन्छ

त्यही उपस्थिति मानवताको सबैभन्दा मौन सत्य हो ।

किनकि साँचो मान्छे अन्त्यमा हराउँदैन

ऊ, अन्त्यपछि पनि

रेखाभन्दा पर मौन भएर बाँकी रहन्छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.