साहित्यपोस्ट डट कम

कविता : रातमा बत्ती नबाल्नू कसैले

कविता : रातमा बत्ती नबाल्नू कसैले

रातमा बत्ती नबाल्नू कसैले

दिउँसो पनि लगाएर बस्नू पर्दा

आँखामा हरघडी लगाउनु बाक्लो कालो सुर्मा

निस्कनै परेमा बाहिर

लगाएर निस्कनू निख्खर कालो चस्मा ।

नहाँस्नू, हाँस्दा पनि

ऊर्जा खपत हुन्छ

तिम्रो आँसुले पनि सोस्छ

बहुमूल्य सूर्य–किरण ।

राजधानीको तापक्रम सहन नसकेर

महाराज सुतिबक्सिएको छ

आफ्नो वातानुकूलित शयनकक्षमा

यो घडीमा मारिदिएका छौँ

सहरका सारा स्ट्रिट ल्याम्पहरू ।

निद्रा बिथोल्ने गरी मौसुफको

हल्ला नगर्नू कसैले

फेरि सन्तुलन बिग्रन सक्छ राजधानीको

रातमा बत्ती नबाल्नू कसैले ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.