छन्द: भुजङ्गप्रयात
सधैँ शान्त गम्भीरको श्वास फेर्ने
अझै कान्ति शोभा सबै माझ छर्ने ।
कतै छैन कुण्ठा कुनै छैन लाज
जता हेर्छु छुट्टै नशा चढ्छ आज ।
सफा माथमाथि पर्यो घाम–छाया
बल्यो दीप आभा छरी शुद्ध माया ।
बगे प्रेम–पीयूष धारा प्रवाह
लिए स्वाद मीठो सधैँ ‘वाह वाह’!
कुनै ज्ञान–विज्ञानको सृष्टि देख्छन्
कुनै बैँस–उन्मादको दृष्टि पोख्छन् ।
कुनै साधना–ध्यानले ज्योति छर्छन्
कुनै व्यर्थ डाँडा भनी मान हर्छन् ।
महादेव–गौरी बसी बात गर्ने
जुनेली उजेली सरी रात हर्ने ।
यहीँ विश्वज्ञाता उदाए निदाए
कयौँ वीर योद्धा ‘सधैँ बाँच्न पाए’ ।
सफा स्वच्छ सौन्दर्य रानी हिमाल
सबै सृष्टि–दाता र खानी हिमाल ।
महान् लक्ष्य तिम्रो चुल्यौ आसमान
रहून् ध्येय हाम्रो मुमाकै समान ।

