यी रङहरूलाई उज्यालो चाहिन्छ
हरिया, पहेंला, सेता यी रङहरूलाई
घामको प्रकाश चाहिन्छ ।
देखिन त अँध्यारो पनि देखिन्छ
प्रकाशबिना कालो देखिन्छ
हरिया, पहेंला, सेता यी रङहरूलाई
देखिन उज्यालो प्रकाश चाहिन्छ ।
हर्षका रङहरू पनि हुन्छन्
विस्मातका रङहरू पनि हुन्छन्
उत्साह-निरुत्साहका रङहरू
सपनामा घटेका
विपनामा घटेका
सपना र विपनाको सङ्घारमा घटेका
उतारचढावका रङहरू पनि हुन्छन् ।
न ती हरिया हुन्छन्, न ती पहेंला हुन्छन्
अनुहारको आकृति बदल्छन् !
जीवनको ऊर्जा बदल्छन् !
भगवान् विष्णु भरिँदा मनभरि
भक्तिमा डुब्दा चुर्लुम्म
प्रह्लादको मनको रङ कस्तो थियो ?
पापको घडा भरिँदा
सकाउन खोज्दा आफ्नै प्रिय सन्तान प्रह्लादलाई
अपराधी मनोवृत्तिमा हिरण्यकश्यपुको
मनको रङ कस्तो थियो ?
होलिका कस्ती थिइन् ?
ब्रह्माको वरदान हुँदा नजल्ने
त्यो आडम्बरमा कस्ती थिइन् ?
जलेपछि आडम्बरसँगै देह
जलेको त्यो खरानी कस्तो थियो ?
इतिहासमा यस्ता रङहरू धेरै पटक जलेका छन्
महादेवको वरदान पाएको रावण
ब्रह्माको वरदान पाएकी होलिका
इतिहासमा धेरै पटक सकिएका छन् ।
जनताको वरदान पाएका शासकहरू
सत्ताको दुरुपयोगमा
शक्तिको दुरुपयोगमा
इतिहासमा धेरै पटक सकिएका छन् !
जलेका छन् !
प्रह्लादका रङहरू अजम्बरी हुन्छन्
आडम्बरका रङहरू सकिन्छन्
अस्तित्वहरू मेटिन्छन् !
प्रह्लादहरू जल्दैनन्, सकिँदैनन्
प्रह्लादका रङहरू अजम्बरी हुन्छन् !
सत्यको जगमा बनेका रङहरू
थितिको जगमा बनेका रङहरू
गगनसम्मै देखिने हुन्छन्
नछेकिने हुन्छन्
नमेटिने हुन्छन् !

