साहित्यपोस्ट डट कम

कविता : राम्रो घरमा हामी पनि बसौँला

कविता : राम्रो घरमा हामी पनि बसौँला

बा–बा भनेकै हो, दाइ–दाइ भनेकै हो

जयजयकार गरेकै हो ।

हामी तल जयजयकार गर्ने

तपाईँहरू चुल्ठे र धुपौरे पाल्ने

उनकै कुरा सुन्ने, अरूले केही बोल्नै नहुने

रिसाउनुपर्ने !

बा–दाइ ! हजुरका स्वभावले

हाम्रै केटाकेटीले ढुङ्गा हाने हाम्रै घरमा ।

बा–दाइ ! हामी नबोलौँ

अहिले हाम्रै केटाकेटी ‘घर चलाउँछु’ भन्दै छन् ।

घर राम्रो भयो भने त्यो घर हाम्रै हो

अहिले हामी जहाँ छौँ त्यहीँ बसौँ ।

बार्दलीमा बसेर हेरौँ, बरन्डामा बसेर हेरौँ

सिमानामा पुगेर हेरौँ ।

हाम्रा घरका रमिताले आलीपारिको

अनि डिलमाथिको छिमेकी रमिता हेर्दै छन्, सुन्दै छु ।

दुवै मिलेर हाम्रो चुच्चे खोरियाको माथि बाटो बनाए रे

पसल थापे रे

खोरियाटोलका दाजुभाइहरू खुसी भए रे भन्ने सुन्दै छु ।

खोरियाटोलका दाजुभाइलाई

खुसी त हामीले बनाउनुपर्ने

बा–दाइ ! हामीले नसकेकै हो ।

आलीपरका ठुल्दाइले हिजो

चुच्चे खोरिया उनको हो भनेको सुनेँ

हाम्रो घरबाट ‘हाम्रो हो’ भन्ने कोही छैन ।

हाम्रा केटाहरूले के भन्छन् हेर्न बाँकी छ ।

हाम्रा केटाकेटीहरू घर चलाउन जुटेका छन्

खै केटाकेटीहरू पनि

‘तेरो भागमा यति, मेरो भागमा यति’ भन्दै

भाग लगाउँदै छन् भनेको सुन्छु ।

यसरी भागबन्डामा नै लागे भने

तपाईँहरूजस्तै होलान् कि भन्ने डर छ ।

अहिले तपाईँ–हामीले भनेको सुन्नेवाला छैनन्

तपाईँ–हाम्रो सहने पालो छ ।

अब हेरौँ, बसौँ

घर राम्रो बन्यो भने

राम्रो घरमा हामी पनि बसौँला ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.