बा–बा भनेकै हो, दाइ–दाइ भनेकै हो
जयजयकार गरेकै हो ।
हामी तल जयजयकार गर्ने
तपाईँहरू चुल्ठे र धुपौरे पाल्ने
उनकै कुरा सुन्ने, अरूले केही बोल्नै नहुने
रिसाउनुपर्ने !
बा–दाइ ! हजुरका स्वभावले
हाम्रै केटाकेटीले ढुङ्गा हाने हाम्रै घरमा ।
बा–दाइ ! हामी नबोलौँ
अहिले हाम्रै केटाकेटी ‘घर चलाउँछु’ भन्दै छन् ।
घर राम्रो भयो भने त्यो घर हाम्रै हो
अहिले हामी जहाँ छौँ त्यहीँ बसौँ ।
बार्दलीमा बसेर हेरौँ, बरन्डामा बसेर हेरौँ
सिमानामा पुगेर हेरौँ ।
हाम्रा घरका रमिताले आलीपारिको
अनि डिलमाथिको छिमेकी रमिता हेर्दै छन्, सुन्दै छु ।
दुवै मिलेर हाम्रो चुच्चे खोरियाको माथि बाटो बनाए रे
पसल थापे रे
खोरियाटोलका दाजुभाइहरू खुसी भए रे भन्ने सुन्दै छु ।
खोरियाटोलका दाजुभाइलाई
खुसी त हामीले बनाउनुपर्ने
बा–दाइ ! हामीले नसकेकै हो ।
आलीपरका ठुल्दाइले हिजो
चुच्चे खोरिया उनको हो भनेको सुनेँ
हाम्रो घरबाट ‘हाम्रो हो’ भन्ने कोही छैन ।
हाम्रा केटाहरूले के भन्छन् हेर्न बाँकी छ ।
हाम्रा केटाकेटीहरू घर चलाउन जुटेका छन्
खै केटाकेटीहरू पनि
‘तेरो भागमा यति, मेरो भागमा यति’ भन्दै
भाग लगाउँदै छन् भनेको सुन्छु ।
यसरी भागबन्डामा नै लागे भने
तपाईँहरूजस्तै होलान् कि भन्ने डर छ ।
अहिले तपाईँ–हामीले भनेको सुन्नेवाला छैनन्
तपाईँ–हाम्रो सहने पालो छ ।
अब हेरौँ, बसौँ
घर राम्रो बन्यो भने
राम्रो घरमा हामी पनि बसौँला ।

