साहित्यपोस्ट डट कम

कविता : रमिते

कविता : रमिते

आजकाल म

रमिते मात्र भएको छु ।

मेरै घरभित्र

मलाई “बुढो” भनियो

“तिम्रो पालो सकियो” भनियो ।

छोरा–छोरी

नाति–नातिना

भतिजा–भतिजी

भान्जा–भान्जी

सबैले आ–आफ्नो पालो खोजिरहे ।

आज त

मेरो नाति केटो

सबैभन्दा अगाडि बढेको छ ।

घर चलाउन

उसले नयाँ केही गरेको पनि होइन

पहिला

तल्लो–ठुलो गोठ चलाएको केटोले

आज घरै चलाउन थालेको छ ।

तर

उसको एउटा अनौठो बानी छ

ऊ फिटिक्कै बोल्दैन ।

सुन्छ होला

सायद सबै बुझ्छ पनि होला

तर बोल्दैन ।

उसको मौनताले

आजभोलि केटाकेटीहरू समेत

दङ्ग परेका छन् ।

घरव्यवहार कसरी चलिरहेको छ

ऐँचोपैँचो कसरी मिलिरहेको छ

ओल्लो–पल्लो घरमा

के हुँदैछ

हामीले केही बुझ्न पाएका छैनौँ ।

खै

के पो हुन्छ अब !

नबोलेरै

उसले हामीलाई आजित बनाएको छ ।

हामी जति कराए पनि

मेरो नाति केटो

मौन छ ।

अनि म

रमिते बनेर

रमिता हेरेर बसेको छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.