आजकाल म
रमिते मात्र भएको छु ।
मेरै घरभित्र
मलाई “बुढो” भनियो
“तिम्रो पालो सकियो” भनियो ।
छोरा–छोरी
नाति–नातिना
भतिजा–भतिजी
भान्जा–भान्जी
सबैले आ–आफ्नो पालो खोजिरहे ।
आज त
मेरो नाति केटो
सबैभन्दा अगाडि बढेको छ ।
घर चलाउन
उसले नयाँ केही गरेको पनि होइन
पहिला
तल्लो–ठुलो गोठ चलाएको केटोले
आज घरै चलाउन थालेको छ ।
तर
उसको एउटा अनौठो बानी छ
ऊ फिटिक्कै बोल्दैन ।
सुन्छ होला
सायद सबै बुझ्छ पनि होला
तर बोल्दैन ।
उसको मौनताले
आजभोलि केटाकेटीहरू समेत
दङ्ग परेका छन् ।
घरव्यवहार कसरी चलिरहेको छ
ऐँचोपैँचो कसरी मिलिरहेको छ
ओल्लो–पल्लो घरमा
के हुँदैछ
हामीले केही बुझ्न पाएका छैनौँ ।
खै
के पो हुन्छ अब !
नबोलेरै
उसले हामीलाई आजित बनाएको छ ।
हामी जति कराए पनि
मेरो नाति केटो
मौन छ ।
अनि म
रमिते बनेर
रमिता हेरेर बसेको छु ।

