साहित्यपोस्ट डट कम

कविता : र पनि त म बाँचेकै छु

कविता : र पनि त म बाँचेकै छु

बोटको फेदमै
निर्मम हतियार प्रहारले
छिनायौ मुन्टो मेरो फेदबाटै
कटुवा बध गरेर मेरो
खन्याइरह्यौ निरन्तर
मेरो मृत शरीर अर्थात् लासमा
घामको आगो हरेक दिन
लौरीबजाइको तिम्रो पराक्रमले
छोडाएर लुगा मेरो लासबाट
र तिम्रो, त्यो घमाइलो आत्मसन्तुष्टि
र पनि त म बाँचेकै छु ।

 बिसाउँथ्यौ किन खेती
गरिरह्यौ दुराग्रही प्रहार ममाथि
फेरि खन्यायौ उही घामको आगो
हरेक दिन बिस्कुन सुकाउँदै
मेरो अभिशप्त, नग्न लासमाथि
खन्यायौ ओखलमा मलाई
र बजायौ ढिकी
पारेँ धुलोपिठो
शुष्क र मृत मेरो शरीरलाई
पानी हाल्दै र फेरि हाल्दै
कुट्नसम्म कुट्यौ
तिम्रो ढिकीमा मलाई
यति गर्‍यौ त के भो
हिमाल-खुसीमा म हाँसेकै छु
बिहानी भाले भएर शुभ बासेकै छु
र पनि त म बाँचेकै छु ।

 उहिल्यैका, हजुरआमाहरूकै शैलीमा
ततायौ मलाई कराहीमा रनक्क
बालेर अगेनामा आगो
र खाँद्यौ फुर्लुङमा
न्वारनको बलले मुड्की बजार्दै
फुर्लुङभित्र खाँदिएको मलाई
राख्यौ कोलमाथि र थिच्यौ फल्याकले माथिबाट
नपुगेर यतिले
किच्यौ एमानका ढुङ्गाले फल्याकमा
खसेँ म तुरुरुरु . . . . . . .
फुर्लुङ निचोरिएर कोलबाट
उपरमाथि थुपर
अतिरिक्त ढुङ्गाहरू चढाउँदै
सीमान्त निचोराइको नियति
चुहिरहेँ म निरन्तर तप्पतप्प . . . . .
थापिरह्यौ तिमी भाँडाहरू
एकपछि अर्को क्रमश
मार्नु र मारिरहनुको विजयोत्सवमा
तिमी हाँसिरह्यौ र नाचिरह्यौ
मारिनु र मर्नुको निरन्तर उपक्रममा
यता म सकुशल
हाँसेरै नाचेको छु
तिम्रो निर्मम प्रहारले के ख्याँस्यो ?
र पनि त म बाँचेकै छु ।

 पाप र धर्मको बिनापर्वाह
पानीको मुहान थुनिदियौ
र पनि म काकाकुल बनिनँ
दानवीयताको पराकाष्ठा—कुकर्म
मेरो भकारीमा बीभत्स आगो लगायौ
र पनि त म भोकले मरिनँ
जुम्ल्याहा-हात शरण परिनँ
सदा-सर्वदा सतिसाल
कहिल्यै म मलिबाँस बनिनँ
सीमाहीन पर्खाल ठड्याएर
परिधिको घेराबाहिर पुगेर
गर्नु-नगर्नु केही बाँकी राखेनौ
मानवताको मर्म कहिल्यै चाखेनौ
तिम्रो क्रूर र बर्बरताका बाबजुद
र पनि त म हाँसेकै छु
र पनि त म नाचेकै छु
र पनि त म बाँचेकै छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.