साहित्यपोस्ट डट कम

कविता : कविता र म

कविता : कविता र म

मैले कवि हुने विषय पढिनँ

न त कुनै किताबमा कविता सिकेँ ।

साहित्य त केवल अक्षर थिए

तर जीवन मेरो पाठ्यपुस्तक बन्यो

अनि जीवनका कविता फुर्न थाले ।

जब फूल मेरो हृदयमा फक्रियो

तब कवितामा सुवास आउन थाल्यो ।

फूलको रूपभन्दा गहिरो

म अनुभूतिको बगैँचामा पुगेँ

जहाँ हरेक रङ एउटा शब्द बनेर खस्यो ।

जब नदी हृदय भएर बग्न थाल्यो

कविताका शब्दहरू रोकिएनन्

कविताहरू स्वतः बग्न थाले

जस्तो चेतनाको धारासँगै

जहाँ शब्दहरूले आत्मालाई धोएर शुद्ध बनाइरहेका छन् ।

जब ब्रह्माण्ड मेरो आत्मामा बस्यो

तब कविताको सीमा रहेन ।

आकाश, धर्ती, आँसु, हाँसो

सबै विषयहरू एउटै स्वरमा गुञ्जिए ।

म कवि रहिनँ

सृष्टिका सारा आयाममा कविता देख्न थालेँ ।

जब मौनले बोल्न सिकायो

शब्दहरू अर्थको पार गए ।

म लेख्दिनथेँ, केवल बग्थेँ

जस्तो अस्तित्वले आफ्नै कथा सुनाउँदै छ ।

त्यो क्षण म कवि होइन

कविता स्वयं भएर बाँचिरहेकी थिएँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.