मैले कवि हुने विषय पढिनँ
न त कुनै किताबमा कविता सिकेँ ।
साहित्य त केवल अक्षर थिए
तर जीवन मेरो पाठ्यपुस्तक बन्यो
अनि जीवनका कविता फुर्न थाले ।
जब फूल मेरो हृदयमा फक्रियो
तब कवितामा सुवास आउन थाल्यो ।
फूलको रूपभन्दा गहिरो
म अनुभूतिको बगैँचामा पुगेँ
जहाँ हरेक रङ एउटा शब्द बनेर खस्यो ।
जब नदी हृदय भएर बग्न थाल्यो
कविताका शब्दहरू रोकिएनन्
कविताहरू स्वतः बग्न थाले
जस्तो चेतनाको धारासँगै
जहाँ शब्दहरूले आत्मालाई धोएर शुद्ध बनाइरहेका छन् ।
जब ब्रह्माण्ड मेरो आत्मामा बस्यो
तब कविताको सीमा रहेन ।
आकाश, धर्ती, आँसु, हाँसो
सबै विषयहरू एउटै स्वरमा गुञ्जिए ।
म कवि रहिनँ
सृष्टिका सारा आयाममा कविता देख्न थालेँ ।
जब मौनले बोल्न सिकायो
शब्दहरू अर्थको पार गए ।
म लेख्दिनथेँ, केवल बग्थेँ
जस्तो अस्तित्वले आफ्नै कथा सुनाउँदै छ ।
त्यो क्षण म कवि होइन
कविता स्वयं भएर बाँचिरहेकी थिएँ ।

