साहित्यपोस्ट डट कम

कविता : प्यारी जुनकीरी !

कविता : प्यारी जुनकीरी !

रातकी उज्याली

दुःखकी सारथि

मेरी प्रियतमा

मेरी साथी !

आज सहरको कृत्रिम उज्यालोले

उनी हराएकी छिन्

मेरी अबला रानी

प्यारी जुनकीरी ।

आफ्नो मिठो धुनले रातलाई जगाउँथिन्

आफ्नो उज्यालोले सबैलाई सतर्क गर्थिन्

गोरेटो र भिरपाखाको मार्गदर्शक थिइन् उनी

औँसीको अँधेरी रातमा उज्याली तारा थिइन् उनी ।

सुखमा सकुन, दुःखमा प्रिय बन्थिन्

एउटै आँगन, एउटै बारी

सबैमा उनी मिलनसार थिइन् ।

के भएछ आज मेरी प्यारी जुनकीरीलाई ?

उनी सहरको उज्यालोबाट फर्किएकी छैनन्

उनको कलात्मक प्रस्तुति

गोरेटो र भिरपाखामा छर्न सकेकी छैनन् ।

मलाई एक्लै छाडेकी छिन्

कुवाको भ्यागुतालाई झैँ गरी

प्यारो गाउँको रजामन्दीमा ।

आज प्रकृतिबाट उनी टाढा भएर

घर, गाउँ र गोरेटोमा

हामीलाई आफ्नोपनको महसुस गराउँदै छिन्

आफ्नो जुनेली रङ हाम्रो सम्झनामा छाडेकी छिन् ।

उनी प्रकृतिबाट ओझेलमा छिन्

मेरी प्यारी जुनकीरी,

जसलाई आज म खोज्दै छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.