साहित्यपोस्ट डट कम

कविता : पुर्पुरोको कथा

कविता : पुर्पुरोको कथा

त्यो कथा कस्तो थियो ?

शोक, भोक, रोग र अभाव

उत्पीडन, जिम्मेवारी र यथार्थता

त्यही कथा कस्तो थियो ?

निरीह अनाथ सरहकी बालिका

वेदनाका छटपटी र रहरसँगै

जन्मे–हुर्केपछिका बर्बरता र क्रूरता

सुनेको कथा कस्तो थियो ?

सुन्नेले अपत्यारिलो कथा सुने

उसले भोगी, उसैले देखी

समाजको ममता र समाजको निर्ममता

देखेको कथा कस्तो थियो ?

पात्र एक, भोगाइ अनेक

छोरीको हक र स्नेह खोज्दा–खोज्दै

पत्नी, बुहारी, आमा र कर्मचारीतन्त्र

कथा उसैको निधारको थियो ।

चर्केका कर्मरेखा टाल्दै हिँड्दा

ऊभित्रका पात्रहरू ढलेका थिए

उठेर हिँड्ने हिम्मत र व्यग्रता

कथा उसको पुर्पुरोको थियो ।

भन्नुस् न महोदय, म सुन्छु

तपाईँको पुर्पुरोको कथा कस्तो थियो ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.