धेरै वर्ष पहिला
आगो लिन गएको थिएँ,आगो लिएर आएँ
पानी लिन गएको थिएँ, पानी लिएर आएँ
हावा लिन गएको थिएँ ,हावा लिएर आएँ
हो आमा ! म त्यसरी गएको थिएँ, यसरी आएँ
हो बाबा ! म त्यसरी गएको थिएँ, यसरी आएँ
आगो ढुङ्गामा थियो ढुङ्गो फोरेर ल्याएँ
पानी हावामा थियो हावा निचोरेर ल्याएँ
हावा जङ्गलमा थियो जङ्गल बोकेर आएँ
पानी लिन गएको थिएँ पानी लिएर आएँ
हावा लिन गएको थिएँ हावा लिएर आएँ
आगो लिन गएको थिएँ आगो लिएर आएँ
हो बाबा ! मैले आगो लिएर आएँ
पानी लिएर आएँ,
हावा लिएर आएँ ।
धेरै वर्षपछि म फेरि
आगो लिन गएको थिएँ, खरानी लिएर आएँ
पानी लिन गएको थिएँ, बालुवा लिएर आएँ
हावा लिन गएको थिएँ, विकिरण लिएर आएँ
हो आमा ! आगो लिन गएको थिएँ खरानी लिएर आएँ
जवानी लिएर गएको थिएँ भस्म लिएर आएँ
आउन न त म मस्कोबाट आएँ, लाटो भएर आएँ
किभबाट आएँ माटो भएर आएँ
जेरुसलेमबाट आएँ ,सुरुङ्मै मरेर आएँ
गाजापट्टीबाट आएँ धुलोपिट्ठो भएर आएँ
बम र बन्दुक बोक्ने खेतालो भएर गएको थिएँ
हात र खुट्टा नभएको लिँडुल्को भएर आएँ ।
यी हेर आमा! म यसरी आएँ ।
यी हेर बाबा! म यसरी आएँ ।
धेरै वर्ष पहिला
आगो लिन गएको थिएँ
आगो लिएर आएँ
पानी लिन गएको थिएँ पानी लिएर आएँ
हावा लिन गएको थिएँ हावा लिएर आएँ
धेरै वर्षपछि म फेरि
आगो लिन गएको थिएँ खरानी लिएर आएँ
पानी लिन गएको थिएँ बालुवा लिएर आएँ
हावा लिन गएको थिएँ विकिरण लिएर आएँ
हो आमा ! आगो लिन गएको खरानी लिएर आएँ
जवानी लिएर गएको भस्म लिएर आएँ

