आफ्नो आँगको बडेमानको भैँसी नदेख्ने म
अरूको आँगमा नभएको जुम्रा खोज्न कति व्यस्त ?
मेरा कामहरू सबै कुरामै अल्मलिएका छन्
आफैँलाई “म ठीक छु” भन्न म कति मस्त !
सिकाउनमा म निकै माहिर छु
तर सिकेका कुरा आफूमा उतार्न खोज्दिनँ ।
अरूलाई धेरै सिकाउने भएर
सायद, आफ्नो आँगको भैँसी देख्दिनँ !!
अब देखाइदेऊ मेरा गल्तीहरू सारा
र म भन्न सकूँ— सुधार्न प्रयास गर्छु है ।
गल्तीबाटै त सिकाइ मिल्ने रहेछ
गल्ती नगर्ने मान्छे को होला र खै ?
राम्रो गर्दा कुरा चल्छ
नराम्रो गर्दा झन् धेरै चल्छ ।
राम्रा कुरा दिमागमै थुनेर राख्दा
दिमागमा विचारको तुफान चल्छ ।
पाकेटमा राखेको मेरो कर्मलाई
अब कुरामै खेर जान नदिने अठोट गरेँ ।
“आफू भलो त जगत् भलो” भन्ने कुरा
जब मैले भित्रैबाट मनन गरेँ ।
अब म आफैँ, आफैँलाई सुधार्न लागिपर्छु
बिग्रिएको मेरो सोचलाई आफैँ सर्जरी गर्छु ।
अरूलाई ताक्ने औँला, सुरुमा आफूलाई ताकेर हेर्छु
अरूलाई नाप्ने नजरले, सुरुमा आफूलाई नापेर हेर्छु ।
अनि मेरा झिना–मसिना
ठुला–साना कमी–कमजोरी सुधार्न अघि सर्छु ।
सारा दुनियाँ किन बदलूँ र म ?
पहिले आफूलाई बदल्न अघि बढ्छु ।
गल्ती देखाउने त धेरै छन् यहाँ
तर औँल्याउँदै सच्याउन सिकाइदिने को?
बलेको आगोमा घिउ थप्न धेरै आउँछन्
तर त्यो आगो निभाइदिने को ?
कुराको हावा त के, आँधी–तुफान नै आओस्,
कुराले सारा पहाड नै हल्लाओस् ।
म त्यो दरिलो रुखझैँ निस्फिक्री हाँसेर बस्न सकूँ
बिना पक्षपात, म त्यो घामझैँ सबैमा न्यानोपन छरिरहूँ ।
लटरम्म फलेको त्यो हाँगोजस्तै गरी
मलाई पनि झुक्न आओस् ।
खुला आकाशले समेटेझैँ
सबैका लागि यो मनमा माया अटाओस् ।

