प्रिय चराहरू
जङ्गल जलिरहेको दिनदेखि
तिमीहरूले सहरका सिसा महललाई घर भन्न सिक्यौ।
धुवाँमै भविष्य खोज्न बाध्य भयौ ।
र म सम्झिरहेछु
जसरी साइबेरियन चराहरू जाडो छल्न देश फेर्छन्
त्यसरी नै, यहाँ बाँच्न चाहने
हरेक निर्दोषले गन्तव्य फेरिरहेछ।
प्रिय चराहरू
सहरको कर्कश सासभित्र बिहान सबेरै
सुन्न पाइने तिम्रो चिरबिर आज पनि
आशाको अन्तिम घण्टी हो ।
किनकि
जब शब्दहरू डराउन थाल्छन्
त्यतिबेला काग
आवाजविहीनहरूको आवाज बनेर
एक्लै आकाश चिर्दै उडिरहेछ ।
अचेल चराहरू बिस्तारै बोल्न थालेका छन्—
चिच्याएर होइन,
भित्रभित्रै काँपेर ।
सुनेको छु— हिमालको काखमा बस्ने
तिलहरी अब बचेरा हुर्काउन नसकेपछि गुनासो बोकेर
राजधानी झरेकी छ रे !
जहाँ गुँडभन्दा नियम धेरै छन्
र आकाशभन्दा डर गहिरो ।
तर अझै बाँकी छ आशा
रैथाने चराहरू आफ्नो माटो नछोड्ने
कसम खाँदै गुँड जोगाउन एकआपसमा बाँधिँदैछन् ।
सोच्दैछु— यदि भोलि कसैले चरालाई पनि
अराजक भन्न थाल्यो भने
के तिनले पनि साइबेरियनझैँ
आकाशमै नागरिकता खोज्न थाल्ने हुन् ?

