साहित्यपोस्ट डट कम

कविता : पृथ्वीको चित्कार

कविता : पृथ्वीको चित्कार

अलिअलि हुस्सु जस्तो

अलिअलि कुहिरो जस्तो

आकासबाट झरेका बादलका टुक्राहरू

जमिनैभरि छरिएर ढाकेजस्तो

असंख्य पीडाका धुवाँहरूको बीचमा

अदृश्य घाउ च्यापेर बसिरहेछु म

के तिमी सुन्न सक्छौ

मेरो निःशब्द चित्कार ?

अग्निकुण्डबाट भर्खरै निस्किएजस्ता ताता बतासहरू

मानौँ

जलिरहेका वनहरूका सुस्केरा

हावाभरि अल्झिएर सुस्साउँदै छन्

धुमिल दृष्टि र

असहजताका आँसुबीचबाट

कसरी दिऊँ तिमीलाई

आँखाभरि हरियो भरोसा ?

तिमी बगाइरहन्छौ

प्रदूषित ढलका काला धारहरू

तिमी थपिरहन्छौ

फोहोरको थुप्रोका उपहारहरू

तिमी गिजोलिरहन्छौ

गिटी र बालुवाका अवशेषहरू

आफैँमा सुकेर प्यासी मरुभूमि भएको समयमा

कसरी बनूँ

तिम्रो आत्माको प्यास मेटाउन सक्ने मुस्कुराइरहेकी वयस्क नदी ?

खोस्रिँदा खोस्रिँदै पातलिँदै गएका छन्

पहाडका छालाहरू

कसरी बचाऊँ

मांसपेशीविहीन अस्थिपञ्जरहरू

तिमी निमोठिरहन्छौ

मेरो वात्सल्यका कलिला पालुवाहरू

म कसरी फुलाऊँ

वसन्तका मनोरम फूलहरू ?

तिमी ट्रेकिङको नाममा बन्दोबस्ती बोकेर

आइपुग्छौ मेरा अवयवहरू चिथोर्न

तिमीले छोडेका उपहारहरूको उष्णताले

म काला चट्टानको पहाड बनेको छु

कसरी देखाऊँ तिमीलाई दृश्यभरि

सुनौलो हिउँ ओढेर मुस्कुराइरहेको बिहान ?

तिम्रा बिकासे फूलहरू फुलाउँदा फुलाउँदै

पतझडहरूको माली बन्दैछु म

तिमीलाई विनाशको गणित बुझाउँदा बुझाउँदा

आफ्नै अस्तित्वको मलामी भएर बाँचिरहेछु म

अन्योलको निःशब्द छटपटीबीच

ओ मान्छे

अब कसरी दिऊँ तिमीलाई

श्वास जोगाउने शुद्ध हावा ?

तिर्खा मेटाउने निर्मल पानी ?

फक्रिँदो वसन्तको सुमधुर गीत ?

आँखा भरिने सुन्दर क्षितिज ?

र निर्धक्क अडिन सक्ने बलियो धरातल ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.