अलिअलि हुस्सु जस्तो
अलिअलि कुहिरो जस्तो
आकासबाट झरेका बादलका टुक्राहरू
जमिनैभरि छरिएर ढाकेजस्तो
असंख्य पीडाका धुवाँहरूको बीचमा
अदृश्य घाउ च्यापेर बसिरहेछु म
के तिमी सुन्न सक्छौ
मेरो निःशब्द चित्कार ?
अग्निकुण्डबाट भर्खरै निस्किएजस्ता ताता बतासहरू
मानौँ
जलिरहेका वनहरूका सुस्केरा
हावाभरि अल्झिएर सुस्साउँदै छन्
धुमिल दृष्टि र
असहजताका आँसुबीचबाट
कसरी दिऊँ तिमीलाई
आँखाभरि हरियो भरोसा ?
तिमी बगाइरहन्छौ
प्रदूषित ढलका काला धारहरू
तिमी थपिरहन्छौ
फोहोरको थुप्रोका उपहारहरू
तिमी गिजोलिरहन्छौ
गिटी र बालुवाका अवशेषहरू
आफैँमा सुकेर प्यासी मरुभूमि भएको समयमा
कसरी बनूँ
तिम्रो आत्माको प्यास मेटाउन सक्ने मुस्कुराइरहेकी वयस्क नदी ?
खोस्रिँदा खोस्रिँदै पातलिँदै गएका छन्
पहाडका छालाहरू
कसरी बचाऊँ
मांसपेशीविहीन अस्थिपञ्जरहरू
तिमी निमोठिरहन्छौ
मेरो वात्सल्यका कलिला पालुवाहरू
म कसरी फुलाऊँ
वसन्तका मनोरम फूलहरू ?
तिमी ट्रेकिङको नाममा बन्दोबस्ती बोकेर
आइपुग्छौ मेरा अवयवहरू चिथोर्न
तिमीले छोडेका उपहारहरूको उष्णताले
म काला चट्टानको पहाड बनेको छु
कसरी देखाऊँ तिमीलाई दृश्यभरि
सुनौलो हिउँ ओढेर मुस्कुराइरहेको बिहान ?
तिम्रा बिकासे फूलहरू फुलाउँदा फुलाउँदै
पतझडहरूको माली बन्दैछु म
तिमीलाई विनाशको गणित बुझाउँदा बुझाउँदा
आफ्नै अस्तित्वको मलामी भएर बाँचिरहेछु म
अन्योलको निःशब्द छटपटीबीच
ओ मान्छे
अब कसरी दिऊँ तिमीलाई
श्वास जोगाउने शुद्ध हावा ?
तिर्खा मेटाउने निर्मल पानी ?
फक्रिँदो वसन्तको सुमधुर गीत ?
आँखा भरिने सुन्दर क्षितिज ?
र निर्धक्क अडिन सक्ने बलियो धरातल ?

