साहित्यपोस्ट डट कम

कविता : पृथ्वी, तिमी फेरि जन्मनै पर्छ !

कविता : पृथ्वी, तिमी फेरि जन्मनै पर्छ !

पृथ्वी, तिमी फेरि जन्मनै पर्छ।

फेरि पनि नरभूपालको

तेजस्वी शुक्रकीट अनि कौशल्यावतीको

कोखबाट तिमी यो वीरभूमिमा जन्मनै पर्छ !

तिमीले आर्जेको त्यो ‘ग्रेटर नेपाल’

तछाडमछाड गर्दै लुछिएको लुछियै छ ।

के पूर्व ? के पश्चिम ?

के उत्तर ? के दक्षिण ?

जाउलो आफ्नै चोटामा खाए पनि

हात पखाल्न छिमेकीले खोस्रिएर

आफ्नो भनी टोपलेको भूमिमा जान बाध्य पारिएको छ ।

त्यसैले पृथ्वी, तिमी यो ज्ञानभूमिमा फेरि जन्मनै पर्छ !

तिम्रो त्यो दिव्योपदेश—

मात्र उपदेशमै सीमित रह्यो,

यहाँ त ‘ठूलाबडा’ भनाउँदाहरू मात्र

कसैको आदेशको पर्खाइमा हुन्छन्।

आदेश कहिले दक्षिणबाट

आदेश कहिले उत्तरबाट

आदेश कहिले पश्चिमबाट

जताबाट पनि आउन सक्छ आदेश !

आदेशले नतमस्तक बनाउँछ

‘ठूला’हरूलाई, आदेशले लम्पसार बनाउँछ

‘बडा’हरूलाई ।

खै, कोही लुसिफर भन्छन्

कोही बारबरा भन्छन्

कोही लेन्डुप दोर्जे बन्न तत्पर देखिन्छन् ।

यो दुर्गति कहिलेसम्म हेरिरहनुपर्ने हो ?

यो दुर्मति कहिलेसम्म भोगिरहनुपर्ने हो ?

मैले त केही बुझिनँ ।

त्यसैले पृथ्वी, तिमी यो शान्तिभूमिमा फेरि जन्मनै पर्छ !

अमरसिंह, बलभद्र, भीमसेन, कालु पाँडे, माथवर

र कैयौँ वीर योद्धाहरू प्रत्येक नेपाली आमाको कोखबाट

अब यो देवभूमिमा फेरि पनि जन्मनेछन् ।

अनि, तिमीले रचेको त्यो उदाउँदो सूर्यको सुन्दर टिस्टा

अनि अस्ताउँदो सूर्यको लालिमायुक्त काँगडा

अब फेरि आफ्नै नेपालभूमिमा जोड्नु छ ।

तिम्रा मूल्यवान् दिव्योपदेश फेरि एकपटक

देशभरि छरेर प्रत्येक नेपालीको ढुकढुकीमा

जडैदेखि उनेर एक सुन्दर

समृद्ध, शान्त, प्रकृतिमय साझा फूलबारी

र ‘विशाल नेपाल’ बनाउनु छ !

त्यसैले पृथ्वी, तिमी यो भूमिमा फेरि जन्मनै पर्छ !!

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.