पृथ्वी, तिमी फेरि जन्मनै पर्छ।
फेरि पनि नरभूपालको
तेजस्वी शुक्रकीट अनि कौशल्यावतीको
कोखबाट तिमी यो वीरभूमिमा जन्मनै पर्छ !
तिमीले आर्जेको त्यो ‘ग्रेटर नेपाल’
तछाडमछाड गर्दै लुछिएको लुछियै छ ।
के पूर्व ? के पश्चिम ?
के उत्तर ? के दक्षिण ?
जाउलो आफ्नै चोटामा खाए पनि
हात पखाल्न छिमेकीले खोस्रिएर
आफ्नो भनी टोपलेको भूमिमा जान बाध्य पारिएको छ ।
त्यसैले पृथ्वी, तिमी यो ज्ञानभूमिमा फेरि जन्मनै पर्छ !
तिम्रो त्यो दिव्योपदेश—
मात्र उपदेशमै सीमित रह्यो,
यहाँ त ‘ठूलाबडा’ भनाउँदाहरू मात्र
कसैको आदेशको पर्खाइमा हुन्छन्।
आदेश कहिले दक्षिणबाट
आदेश कहिले उत्तरबाट
आदेश कहिले पश्चिमबाट
जताबाट पनि आउन सक्छ आदेश !
आदेशले नतमस्तक बनाउँछ
‘ठूला’हरूलाई, आदेशले लम्पसार बनाउँछ
‘बडा’हरूलाई ।
खै, कोही लुसिफर भन्छन्
कोही बारबरा भन्छन्
कोही लेन्डुप दोर्जे बन्न तत्पर देखिन्छन् ।
यो दुर्गति कहिलेसम्म हेरिरहनुपर्ने हो ?
यो दुर्मति कहिलेसम्म भोगिरहनुपर्ने हो ?
मैले त केही बुझिनँ ।
त्यसैले पृथ्वी, तिमी यो शान्तिभूमिमा फेरि जन्मनै पर्छ !
अमरसिंह, बलभद्र, भीमसेन, कालु पाँडे, माथवर
र कैयौँ वीर योद्धाहरू प्रत्येक नेपाली आमाको कोखबाट
अब यो देवभूमिमा फेरि पनि जन्मनेछन् ।
अनि, तिमीले रचेको त्यो उदाउँदो सूर्यको सुन्दर टिस्टा
अनि अस्ताउँदो सूर्यको लालिमायुक्त काँगडा
अब फेरि आफ्नै नेपालभूमिमा जोड्नु छ ।
तिम्रा मूल्यवान् दिव्योपदेश फेरि एकपटक
देशभरि छरेर प्रत्येक नेपालीको ढुकढुकीमा
जडैदेखि उनेर एक सुन्दर
समृद्ध, शान्त, प्रकृतिमय साझा फूलबारी
र ‘विशाल नेपाल’ बनाउनु छ !
त्यसैले पृथ्वी, तिमी यो भूमिमा फेरि जन्मनै पर्छ !!

