म सुसेली हाल्दै गुनगुनाउँदै टहल्दै थिएँ
मेरो आवारापनलाई तिमीले उपहास गर्यौ
कर्मको गाथा तिमीले मेरो कानैमा फुसफुसायौ..
जिन्दगीको उकालीमा एउटा चौतारो भेटेको थिएँ
त्यसलाई चट्ट सफा गरी
आफू आएको बाटोतिर फर्की हेरेँ
देखेँ.. नागबेली बाटो, हरिया फाँट र मरुभूमि पनि
सबैलाई जोडेको एउटा कविता पो बन्यो
म त्यो कविता गाउँदै थिएँ
तब तिमीले भन्यौ कि
समयको बहाव त अगाडि पो छ
बगेको खोला नफर्किने कुरा गर्यौ
अनि मलाई मेरो बेबकुफीको लागि मस्त हप्कायौ
जस्तो कि एक दिन
बेस्मारी हुरी चलेको बेला
बारीको डिलमा बसेर हेर्दै थिएँ
बुढो पिपलको रुख
बयली खेल्दै झारिरहेका पात
अनि कमजोर केही डालीहरू
तब तिमीले मेरो सातो टिप्ने निर्णय गर्यौ
र मलाई मेरो लापरबाहीप्रति गाली गर्यौ
हुरीले मलाई भत्काउने
अनि रुखका डालीले मलाई चोट पुर्याउने कुरा गर्यौ
मेरो शरीर चोटबाट बचाउने जिकिर गर्यौ
तब मैले…
जीवनको लयको गीत गाएँ
सात सुरको ध्वनि तिमीलाई सुनाएँ
र सुरका असीमित संयोजनको बारे तिमीलाई भनेँ
युगौँदेखि एकै रागमा अल्झेको तिमीलाई
सङ्गीतको विराट स्वरूपको दर्शन गराएँ..
तिम्रै हडबडाहटले झरेको पसिना
र तिम्रा अतृप्त वेदनाले झरेको आँसुले
निर्मित एउटा तलाउ थियो
म चाहन्थेँ
त्यो तलाउअघि हामी दुई उभिऔँ
र एकसाथ हाम्रो प्रतिच्छाया त्यसमा हेरौँ
अस्तित्वको विविधता तिमीले सायद देख्ने थियौ
तर तिमी त पर कतै हिँडिसकेका थियौ
फर्की हेरेँ
मक्किएको हाँगा र पहेँलिएका पातहरू झरेर
बुढो पिपल अझै निश्चल उभिएकै थियो
उसको अस्तित्व नामेट पार्न चेष्टा गर्ने काँतर हावा
पर कतै शून्यमा विलीन भइसकेको थियो….

