साहित्यपोस्ट डट कम

कविता : पृथक राग

कविता : पृथक राग

म सुसेली हाल्दै

गुनगुनाउँदै टहल्दै थिएँ

मेरो आवारापनलाई तिमीले उपहास गर्यौ ।

कर्मको गाथा तिमीले मेरो कानैमा फुसफुसायौ…

जिन्दगीको उकालीमा

एउटा चौतारो भेटेको थिएँ

त्यसलाई चट्ट सफा गरी

आफू आएको बाटोतिर फर्की हेरेँ ।

देखेँ— नागबेली बाटो

हरिया फाँट र मरुभूमि पनि

सबैलाई जोडेको एउटा कविता पो बन्यो !

म त्यो कविता गाउँदै थिएँ

तब तिमीले भन्यौ

कि— समयको बहाव त अगाडि पो छ

बगेको खोला नफर्कने कुरा गर्यौ

अनि मलाई मेरो बेवकुफीका लागि मस्त हप्कायौ ।

जस्तो कि एक दिन

बेस्सरी हुरी चलेको बेला

बारीको डिलमा बसेर हेर्दै थिएँ

बुढो पिपलको रुख

बयली खेल्दै झारिरहेका पात

अनि कमजोर केही डालीहरू ।

तब तिमीले मेरो सातो टिप्ने निर्णय गर्यौ

र मलाई मेरो लापरबाहीप्रति गाली गर्यौ ।

हुरीले मलाई भत्काउने

अनि रुखका डालीले मलाई चोट पुर्‍याउने कुरा गर्यौ

मेरो शरीर चोटबाट बचाउने जिकिर गर्यौ ।

तब मैले…

जीवनको लयको गीत गाएँ

सात सुरको ध्वनि तिमीलाई सुनाएँ

र सुरका असीमित संयोजनका बारे तिमीलाई भनेँ।

युगौँदेखि एकै रागमा अल्झेका

तिमीलाई सङ्गीतको विराट स्वरूपको दर्शन गराएँ…

तिम्रै हडबडाहटले झरेको पसिना

र तिम्रा अतृप्त वेदनाले झरेको आँसुले निर्मित

एउटा तलाउ थियो ।

म चाहन्थेँ— त्यो तलाउ अघि

हामी दुई उभियौँ

र एकसाथ हाम्रो प्रतिच्छाया त्यसमा हेरौँ ।

अस्तित्वको विविधता तिमीले सायद देख्ने थियौ

तर तिमी त पर कतै हिँडिसकेका थियौ।

फर्की हेरेँ

मक्किएको हाँगो र पहेँलिएका पातहरू झरेर

बुढो पिपल अझै निश्चल उभिएकै थियो।

उसको अस्तित्व नामेट पार्न चेष्टा गर्ने काँतर हावा

पर कतै शून्यमा विलीन भइसकेको थियो…

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.