म सुसेली हाल्दै
गुनगुनाउँदै टहल्दै थिएँ
मेरो आवारापनलाई तिमीले उपहास गर्यौ ।
कर्मको गाथा तिमीले मेरो कानैमा फुसफुसायौ…
जिन्दगीको उकालीमा
एउटा चौतारो भेटेको थिएँ
त्यसलाई चट्ट सफा गरी
आफू आएको बाटोतिर फर्की हेरेँ ।
देखेँ— नागबेली बाटो
हरिया फाँट र मरुभूमि पनि
सबैलाई जोडेको एउटा कविता पो बन्यो !
म त्यो कविता गाउँदै थिएँ
तब तिमीले भन्यौ
कि— समयको बहाव त अगाडि पो छ
बगेको खोला नफर्कने कुरा गर्यौ
अनि मलाई मेरो बेवकुफीका लागि मस्त हप्कायौ ।
जस्तो कि एक दिन
बेस्सरी हुरी चलेको बेला
बारीको डिलमा बसेर हेर्दै थिएँ
बुढो पिपलको रुख
बयली खेल्दै झारिरहेका पात
अनि कमजोर केही डालीहरू ।
तब तिमीले मेरो सातो टिप्ने निर्णय गर्यौ
र मलाई मेरो लापरबाहीप्रति गाली गर्यौ ।
हुरीले मलाई भत्काउने
अनि रुखका डालीले मलाई चोट पुर्याउने कुरा गर्यौ
मेरो शरीर चोटबाट बचाउने जिकिर गर्यौ ।
तब मैले…
जीवनको लयको गीत गाएँ
सात सुरको ध्वनि तिमीलाई सुनाएँ
र सुरका असीमित संयोजनका बारे तिमीलाई भनेँ।
युगौँदेखि एकै रागमा अल्झेका
तिमीलाई सङ्गीतको विराट स्वरूपको दर्शन गराएँ…
तिम्रै हडबडाहटले झरेको पसिना
र तिम्रा अतृप्त वेदनाले झरेको आँसुले निर्मित
एउटा तलाउ थियो ।
म चाहन्थेँ— त्यो तलाउ अघि
हामी दुई उभियौँ
र एकसाथ हाम्रो प्रतिच्छाया त्यसमा हेरौँ ।
अस्तित्वको विविधता तिमीले सायद देख्ने थियौ
तर तिमी त पर कतै हिँडिसकेका थियौ।
फर्की हेरेँ
मक्किएको हाँगो र पहेँलिएका पातहरू झरेर
बुढो पिपल अझै निश्चल उभिएकै थियो।
उसको अस्तित्व नामेट पार्न चेष्टा गर्ने काँतर हावा
पर कतै शून्यमा विलीन भइसकेको थियो…

