साहित्यपोस्ट डट कम

कविता : प्रेमको सेतु

कविता : प्रेमको सेतु

मेरो रूप

उसको आँखामा

प्रणयको पहिलो उज्यालो हो

मृगनयनी दृष्टि,

ओसिला ओठका मुस्कान

यौवनले रङ्ग्याएका

गुलाबी साँझहरू।

कस्तूरीको सुवास झैँ

म उसको सासमा

मिसिन्छु।

मेरो कपाल

कालो बादल बनेर

उसको निधारमा छाया हाल्छ।

मेरो स्वर

कोइलीको कुहुकुहुसँग

लाज नमानी बोल्छ।

जब म हिँड्छु,

धर्ती लजाउँछ;

जब म हाँस्छु,

उसको छातीभित्र

प्रेमको बेली फुल्छ।

मेरो शरीर

उसलाई तान्ने सेतु हो,

जसबाट ऊ

प्रेम-नदी पार गर्न खोज्छ—

शीतलता खोज्दै,

परम आनन्द चाख्दै,

क्षणिक स्वर्गमा हराउँदै।

तर म जान्दछु

ऊ मेरो रूपमै

थोरै अड्किन्छ,

मेरो आत्माको

गहिराइमा

डुब्न डराउँछ।

मेरो जवानी

उसका सपनाका रातहरू

सजाउने चन्द्रमा हो

तर

मेरो धैर्य,

मेरो विश्वास,

मेरो निःस्वार्थ समर्पण

यी नै हुन्

उसको जीवनका

स्थायी तारा।

हे प्रिय,

प्रेमको सेतु

केवल शृङ्गारले

बलियो हुँदैन।

यसमा चाहिन्छ

मनका फूल,

आत्माका रङ,

विश्वासका ढुङ्गा।

आऊ,

मेरो सौन्दर्यमा अड्केर नबस

मेरो आत्मासम्म

हिँडेर आऊ।

त्यसपछि मात्र

यो प्रेमको सेतु

साँचै अनुपम हुनेछ

जहाँ

तिम्रो यात्रा पनि म हुँ

तिम्रो गन्तव्य पनि म नै हुँ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.