सीमा नानी
विश्वका स्वार्थ समूहहरू बन्दै-भत्किँदै / भत्किँदै-बन्दै
महाशक्तिहरू रङ बदल्दै, उदाउँदै-अस्ताउँदै गरेको यो समयमा
तिम्रो घडीको समयभन्दा केही घण्टा परको दूरीबाट
त्यहाँको पर्यावरणको न्यानोपनमा अपनत्व मिसाउन
धर्तीको अर्को कुनाबाट
प्रेमिल वायुका लहरहरू पठाउँदै छु
प्रिय नानी, म तिमीलाई पत्र लेख्दै छु ।
हिउँजस्तै सेता तर भावनाविहीन दरबारका
हिउँजस्तै मान्छेहरूले सपना बाँड्दै गरेका यस घडीमा
तिम्रै रूपरङ्गका, तिमीजस्तैहरू
नारी दिवसको फर्याक-फुरुकमा रमाउँदै गरेको यो समयमा
स-साना जीव, वनस्पति, कीरा र माकुरामा समेत अनपेक्षित
‘लिङ्गीय विभेद’को पाठशालामा हुर्कँदै गरेकी
‘छोरी’ हुनुको सामाजिक अर्थ बुझ्दै
समयको रापिलो भट्टीमा साहसका गहनाहरू बनेर खारिँदै गएकी
तिमी र तिमीजस्तै छोरीहरूलाई
थप परिपक्वताको शुभकामना !
नारी दिवसको शुभकामना !
तिमी तारा बनेर टल्किँदा
सधैँ आकाश भएर
अनन्त सीमासम्म हेर्दै
तिमीलाई निरन्तर माया गर्ने
तिम्रो बाबा ।

