साहित्यपोस्ट डट कम

कविता : प्रतिस्पर्धाको अर्थ

कविता : प्रतिस्पर्धाको अर्थ

प्रतिस्पर्धा भन्नुको अर्थ नै के ?

जहाँ दुई पक्षबीच जितको

बाजी हुन्छ

एकले अर्कोलाई लडाउने

दाउपेच हुन्छ

जित-हारको खेल कुनै खेलमा हुँदैनथे भने

प्रतिस्पर्धा शब्द नै हुन्नथ्यो होला।

जानौँ, खेल अनेकौँ प्रकारका हुन्छन्

हरेक खेल प्रतिस्पर्धाकै निम्ति खेलिन्छ

जब खेलहरूमा कुनै बाजी हुँदैन भने

खेलको अस्तित्व नै कहाँ रहन्छ ?

प्रतिस्पर्धा नै बाजीको पर्याय हो

यही बाजीभित्र खेलिने

राजनीति पनि एक खेल हो

जसलाई खाली मैदानमा हात र खुट्टाले

नचाएर, गुडाएर, फ्याँकेर खेलिने होइन

स्वच्छ मथिङ्गल र निष्कपट

आत्मा, मन, वचन र कर्मले खेलिन्छ

हो, त्यही खेलको नाम राजनीति हो ।

ए राजनीतिका खेलाडी हो !

जितमा आफ्नो वचन र मर्यादा नबिर्सनु

हारमा हरेश नखानु

जनता तिमीहरूको स्वच्छ प्रतिस्पर्धा हेर्ने दर्शक हुन्

जनता नै तिमीहरूका शक्ति हुन्।

जहाँ जालझेल हुन्छ

त्यहाँ जनतारूपी दर्शक रुष्ट हुन्छन् ।

जब उक्त खेलमा अनैतिक खेल हुन्छ

तब जनताका दिव्यचक्षु खुल्लै हुन्छन्

नसोच्नु राजनीतिको खेलमा

जनताको आँखा छलियो भनेर

नमान्नु जनतालाई कहिल्यै पनि

अन्धो, बहिरो, लठेप्रो छन् भनेर ।

यिनै सोझा जनता हुन्

सफलताको सिंहासनमा राख्ने पनि

यिनै दर्शकरूपी जनता हुन्

भिरालोबाट रसातलमा धकेल्ने पनि ।

त्यसैले सोच

प्रतिस्पर्धाहिन खेल असम्भव छ

यहाँ हार-जित स्वाभाविक हुन्छ

हारलाई पनि आत्मसात् गर

जितलाई मन, वचन र कर्मले पूरा गर

तब जितको स्वर्णिम सपना

पूरा हुनेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.