उकाली–ओरालीका मौन सुवाससँग
आकाश बादलले डम्म ढाकिएको
दृष्टिचेतनाको उचाइबाट
एक–एक पाइला नाप्दै तिमी झुल्किएका छौ
न्यानो किरणसँग आशाको उज्यालो बोक्दै अनुहारभरि ।
गलामा टन्नै इन्द्रेणी माला पहिरेर
पीडाको पर्दा उघारेर प्रेमिल गहिराइबाट
विश्वासका सुनौला गराहरूमा
रातो गुलाब फुलाउन हृदयभरि ।
अनुरागका स्वर्णिम मुस्कानहरू छर्दै पाखाभरि
तिम्रो अस्तित्वको पहराबाट झरेका
पानीका छिटाहरू हत्केलाभरि उभाउन चाहन्छु ।
तिम्रो आगमनको प्रतीक्षामा थकान सबै भुलेर
अँध्यारा सुरुङमा उज्याला ताराहरू टाँस्दै
मनको शून्यतामा सुवासिलो जून रोप्न चाहन्छु ।
तिमी साउती गर्दै हाँस्दाखेरि
वसन्तको धुन गुन्जिन्छ उराठ पहरामा ।
प्रतिशोधको रातो ज्वाला सलबलाइरहेको
समयका साँघुरा छिद्रहरूमा
मिलनका तीक्ष्ण अनुराग छर्दै तिमी
चैतन्यले झकझकाउन आइपुग्छौ
उजाड ऋतुहरू पन्छाएर ।
आँगनमा हँसिलो वसन्त रोप्न आतुर भएझैँ
सगरमाथाको चुली होच्याउँदै
तेञ्जिङझैँ गौरवशाली अस्तित्वको रनहामा
राष्ट्रिय गौरव रोप्न प्रतीक्षारत छु
तिम्रो आगमनको ।
मुटुका प्रवाहहरू बेलगाम घोडाझैँ दौडाइरहेछु
अनन्त आकाश तथा सिङ्गो धर्ती सबै-सबै टकटकाएर
पाखा–पखेरा तथा घाम र बतासका तरेलीहरू नाप्दै
आफू–आफैँ तन्किरहेछु, फैलिइरहेछु ।
मुटुका सम्पूर्ण गन्तव्यहरूमा लालीगुराँसझैँ फुलिरहेछु
आफू–आफैँ हराएर सुरम्य देउराली र चौतारीमा
स्वप्निल गुराँसहरू गोडिरहेछु
तिम्रो प्रतीक्षामा ।

