म सजीव छु
एउटा चल्ती फिर्ती मुटु, एउटा धड्कन
तर नियतिको कस्तो खेल !
म एउटा निर्जीव बनिरहेछु।
मेरै आँखाहरूको नीलो गहिराइमा
हरेक क्षण, हरेक पल अन्यायका
काला बादलहरू मडारिन्छन्
रगतका टाटाहरू बस्छन्
तर म ?
एउटा तटस्थ यात्रीजस्तो
नदेखेझैँ, नपाएझैँ
आफ्नै मौनताको बोझ बोकेर
मृत्युको बाटोतिर हिँडिरहेछु ।
मसँग बोल्नुपर्ने हजारौँ कारणहरू छन्
हजारौँ तर्कहरू, हजारौँ चिच्याहटहरू
मेरो कण्ठमा थुनिएका छन्
तर नि म चुप छु
मेरो ओठमा विवशताको किला ठोकिएको छ
मेरो जिब्रो स्वार्थको साङ्लोले बाँधिएको छ ।
मान्छेहरू धर्मको लेपन ओढेर
एउटा पवित्र मुखौटो पहिरिएर
अधर्मको अन्धकारमय व्यापारमा लीन छन्
हरेक मन्दिरको घण्टीमा
हरेक प्रार्थनाको मन्त्रमा
तिनीहरूको पाखण्डको दुर्गन्ध आउँछ ।
यो सब कुरा
त्यो बाहिरको खोला
जसको आवाजमा सत्यको प्रवाह छ लाई थाहा छ;
त्यो बुढो रुख, जसले युगौँदेखि इतिहास देखिरहेको छ— लाई थाहा छ;
अनि त्यो ठिङ्ग उभिएको मौन पहाड
जसको गहिराइमा सारा रहस्य लुकेको छ— लाई थाहा छ;
तिनीहरू साक्षी छन्, मौन साक्षी ।
मलाई पनि थाहा छ सबै कुरा
मेरै चेतनाको एउटा कुनामा यो सत्य जमेको छ
र पनि, म अहिले निर्जीव छु— किनकि म मौन छु ।
तर याद राख !
एक दिन मेरो यो निर्जीवता
यो मेरो दबाएको मौनता
प्राकृतिक महाविपत्ति, एउटा भयानक आँधी-हुरी बनेर आउनेछ
जसले यो भ्रमको समाजलाई, यो पाखण्डको टापुलाई
जगैदेखि हल्लाइदिनेछ ।
त्यो दिन
त्यो शान्त खोलाको गडगडाहटले
अपराधीहरूको कापेको मुटु थर्काउनेछ।
त्यो रुखका पातहरू— अहिलेका शान्त पातहरू
न्यायको चर्को र तीखो स्वरमा
त्यो नीलो आकाशमा कराउनेछन् ।
र पहाडहरू— शताब्दीदेखिका मौन पहाडहरू
तिनीहरूको छाती चिरिएर ढुङ्गाका गोलाहरू बर्साउनेछन्
र तिनीहरूले
तमाम अन्यायहरूलाई
तमाम पाखण्डहरूलाई
तमाम अधर्मीहरूलाई
सर्वनाश गर्नेछन् ।
र…
त्यही प्रलयको खरानीबाट
मेरो यो लाचार निर्जीवता
एउटा नयाँ र प्रखर सजीवतामा रूपान्तरण हुनेछ ।

