साहित्यपोस्ट डट कम

कविता : प्रकृतिको अदालतमा

कविता : प्रकृतिको अदालतमा

ए पेमी !
तिम्रो नाकजस्तै चिसो
हिउँ जम्ने ठाउँमा
मेरो मनजस्तै मैलो धब्बा बनेर
किन उभिएको छ
त्यो कालापत्थर ?
कुन पापको खरानी हो यो
जो हिमालको निधारमै टाँसिएको छ ?
घामसँग ठट्टा गर्दै
लेकलाई सुनको गहना दिने टाकुरी
किन आज
जलेको युगको अवशेषझैँ
कालो हुँदै गइरहेछ ?
सोध न पेमी !
यदि अपराध मेरो मात्र हो भने
के प्रायश्चित्तले
हिमालको स्मृति फर्काउन सक्छ ?
के क्षमाले
हिउँको सेतो धर्म बचाउन सक्छ ?

ए तिलवा !
तिम्रो कछाड भिजाउँदै
आफ्नै छातीमा आकाशको अनुहार उतार्ने
त्यो सिमसार
किन आज
शून्यवादको उजाड मठझैँ देखिन्छ ?
हाम्रो प्रेमको रसरङ्ग
पृथ्वीले सर्लक्कै पचाइसकेपछि
के सभ्यता पनि
डाइनोसरका हड्डीझैँ
सङ्ग्रहालयमा टाँगिने वस्तु मात्रै नहोला र ?
सोध न तिलवा !
यदि मैले स्वीकारेँ कि
मानिस सृष्टिको मालिक होइन,
क्षणिक पाहुना मात्र हो
के त्यसपछि
सिमसारले फेरि
तिम्रो प्रतिविम्बलाई
आफ्नो छातीमा राख्न सिक्छ ?

ए मैसरी !
हामीले चँदारालाई दिएको मुढाझैँ
फेद भएका रूखहरू
किन हराए तिम्रो जङ्गलबाट ?
कसले सिकायो मानिसलाई
छायाँ बेचेर
उज्यालो किन्ने व्यापार ?
हाम्रो प्रेमका रसरङ्ग र लुकामारी खेलेका बाटाहरू
किन आज
इतिहासका भग्नावशेषझैँ सुनसान छन् ?
सोध न मैसरी !
यदि मैले मानेँ कि
विकासका नाममा
मैले आफ्नै जरा काटेँ,
के त्यसपछि
खकुवा दोभानमा
पहिलेजस्तै
अन्तरे चँदाराले
दहीको ठेकी कुँद्न पाउँछ ?

ए तामली !
म माग्न नआउँदै
धमिलिएको अरुण छोडेर
तिमी किन बसाइँ सर्‍यौ ?
के नदीहरू पनि
मानिसको नैतिक पतनदेखि विरक्तिन्छन् ?
किनारका बस्तीलाई खबरै नगरी
किन हिँड्यौ त्यसरी
जसरी ऋषिहरू
सभ्यताको कोलाहल त्यागेर
वन पस्छन् ?
सोध न तामली !
यदि मैले
नदीलाई केवल पानी नभएर
समयको चेतना मानेँ भने,
के अरुणले फेरि
आफ्नो काखमा
तिमीलाई फर्काउँछ ?

पेमीको लेकमा
अब हावाले सुगन्ध होइन
सभ्यताको थकान बोक्छ
तिलवाको सिमसारमा
बकुल्लाहरू वैष्णव हुन सकेनन्
किनकि पानीमै
अब पापको धूलो घोलिएको छ
मैसरीको जङ्गलमा
कोइलीको सरगम हराउनु
केवल चराको मौनता होइन
मानिसभित्र मरेको संवेदनाको शोकगीत हो
तामलीको घाटमा
अरुण अब स्निग्ध बग्दैन
ऊ आफ्नै तटसँग असन्तुष्ट
दार्शनिकझैँ
गम्भीर भएर बग्छ ।
विरक्तिएर
यी धरतीमाताहरू
लागे वैराग्यधामतिर
मानौँ
प्रकृतिले मानिसबाट
संन्यास लिएको छ ।

ए कुटुम्बहरू !
अब म कसकससँग
कुन-कुन भाषामा
माफी मागूँ ?
हिमालसँग ?
नदीसँग ?
वनसँग ?
चरासँग ?
कि आफ्नै अन्तस्करणसँग ?
र बसाइदिऊँ तिम्रो घरजम
बताइदेऊ
प्रकृतिको अदालतमा
पश्चात्तापको
कुन दर्शन मान्य हुन्छ ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.