साहित्यपोस्ट डट कम

कविता : प्रकृति सम्मेलन

कविता : प्रकृति सम्मेलन

(पर्या–कविता)

हिमालभरिका ढुङ्गाहरू भेला भए

र भन्छन्

हामीले त यो धर्ती अड्याएका छौँ ।

अनि त ठमक ठमक हिँड्छौ, ए मान्छेहरू हो !

खेतभरिका माटोहरू भेला भए !

र भन्छन्

हामीले त अन्नपात उब्जाएका छौँ

अनि त पेटभरि खाएका छौ, ए मान्छेहरू हो !

गङ्गोत्रीभरिका नदीहरू भेला भए !

र भन्छन्

हामीले त जलसागर प्रवाह गरेका छौँ

अनि त तिर्खा मेटाएका छौँ, ए मान्छेहरू हो !

जङ्गलभरिका रुखहरू भेला भए !

र भन्छन्

हामीले त अक्सिजन र पर्यावरण बनाएका छौँ

अनि त अस्तित्वमा छौँ , ए मान्छेहरू हो !

यो हो, प्रकृति सम्मेलन, यहाँ हरित मेनिफेस्टो बन्दैछ ।

जहाँ लेखिँदैछ, इकोसिस्टम र सहअस्तित्वको नारा

जहाँ लेखिँदैछ, इकोलोजी र सहजीवनको नारा

जहाँ लेखिँदैछ, इन्भारोमेन्ट र सहकार्यको नारा

तर पनि

विवेक बिग्रिएका मानिस हो ! किन गर्छौ पर्यावरणको शिरोच्छेदन ?

बुद्धि बिग्रिएका मानिस हो ! किन गर्छौ पृथ्वीको अस्तित्व विलोपन ?

भोलिपल्ट फेरि

शहरभरि एक हुल मानिसहरू भेला भए

भन्दैछन्

म क्रसर व्यापारी, ढुङ्गा बेच्ने हो ।

म कृषि व्यापारी, माटो बेच्ने हो ।

म पानी व्यापारी, नदी बेच्ने हो ।

म काठ व्यापारी, जङ्गल बेच्ने हो ।

म पूँजीपति, कार्बन–तेलका कुँवा, अनि पृथ्वी नै बेच्ने हो ।

यो हो कोप सम्मेलन, जहाँ ड्रील बेबी ड्रील मेनिफेस्टो बन्दैछ ।

ऊफ !

अलि पर वरपीपल चौतारामा एक साधु छन्

उनी बर्बरिक जस्ता छन्

अर्थात् उनी कमजोरका प्राणरक्षक हुन्

यसैले होला, उनी प्रकृति सम्मेलन सुन्दै थिए

विडम्बना अहिले,

उनी हेर्दैछन् एक पर्यावरणीय कुरुयुद्धको सम्भावित परिदृश्य !

उनी हेर्दैछन् प्रकृति–मानव महाभारत युद्धको सन्ध्याकाल !

अनि सोध्दैछन् यी मान्छेहरूलाई

अनि सोध्दैछन्, धर्तीका बासिन्दाहरूलाई

खोइ विराट पर्याचिन्तनका गीतोपदेश रचनाकारहरू ?

खोइ ‘नन्दन वनका’ अनमोल पारिजातहरू ?

खोइ ‘नक्षत्र बाटिकाका’ पवित्र वृक्षिकाहरू ?

कोही देखिन्नन् कतै, धराबासी यलम्बरहरू ।

कोही देखिन्नन् कतै, चिपको आन्दोलनका गौरादेवीहरू ।

लौन यो पर्या–विध्वंसको आगलागी रोक

लौन यो प्रकृति संहारणको महायुद्ध रोक

कोही देखिन्नन् कतै, हरित शान्तिदूतहरू ।

र फेरि उनी आफैँ लेख्छन्

त्यही प्रकृति सम्मेलनको घोषणापत्र

जसमा ढुङ्गा बोल्दछ, माटो बोल्दछ, पानी बोल्दछ र जङ्गल पनि बोल्दछ ।

जसमा प्रकृति हजारौँ लाखौँ पटक बोल्दछ ।

र भन्छन्

मूर्ख मानिसहरू हो

कि लेख आफ्नै विनाशको मृत्युपत्र ।

वा लौ पढ !

तिम्रो अस्तित्वको जीवनपत्र ।

अब, यी नै बोलिरहेका ढुङ्गा, माटो, पानी, जङ्गल र पर्यावरणसित मितेरी गाँस ।

बरु च्यात, कोप सम्मेलनका नक्कली सहमतिपत्रहरू ।

अनि पालना गर, प्रकृति सम्मेलनका घोषणापत्रहरू ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.