ऊ
प्रजा, राजा र राजा, प्रजाको
चतुर खेल पासा फालेर देखाउँछ
मञ्चमा शक्ति सजाएर
ताली बटुल्छ ।
नेपालको इतिहास सुनाउँछ
घटना छानेर
कथा काटछाँट गरेर
र त्यही कथाभित्र
आफ्नै नाम
अदृश्य अक्षरमा कोर्छ ।
ऊ पुराणको सहारा लिन्छ
रामायण, महाभारत
श्रुतिहरू
कथा सुनाएर
जनताको मन
बहलाइरहन्छ ।
भविष्यको चित्र कोर्छ
देश, परदेश र दुनियाँको रङ
छलीजुवा जस्तै बदलिँदै गएको देखाउँछ
तर त्यो चित्रमा
मानिसभन्दा
नारा उज्यालो हुन्छ ।
ऊ लेख्छ
तरक्कीका नयाँ पाठ
ग्राफ, योजना, सपना
तर हरेक पानामा
कुनै न कुनै
जुवा लुकेको हुन्छ ।
कहिले विकासको नाममा
कहिले अधिकारको
कहिले धर्मको
कहिले भयको ।
साथै ऊ भन्छ
“गीताको नयाँ अनुवाद हेर्नुहोस्
यो देश तीव्र गतिमा
अगाडि बढ्दैछ ।”
र त्यसै बहानामा
देशको पहिया
एक हात मात्र
अगाडि सर्छ ।
ऊ घोषणा गर्छ
“अब अधिकार प्रजाको हातमा आयो
राजा र प्रजा
एक भए ।”
तर साथी,
महाभारत सम्झ
हस्तिनापुरको सभामा पनि
सबै थिए बराबर
भनेरै
जुवाको पासा खसालिएको थियो ।
धृतराष्ट्र अन्धा थिए
तर त्यतिबेला
पूरै समाज
आँखा चिम्लिएको थियो ।
द्रौपदीको प्रश्न
सभाभरि गुञ्जिएको थियो
“धर्म कसले हार्यो ?”
त्यो जुवा
मात्र खेल थिएन
त्यो सत्ता र लोभको
राजनीति थियो
र त्यसैले
कुरुक्षेत्र जन्मियो ।
इतिहास भन्छ
नाम फेरिन्छ
पात्र फेरिन्छ
तर जुवा उही रहन्छ ।
आज
पासा हातमा छैन
घोषणा र भाषणमा छ ।
दरबार छैन,
मञ्च र पर्दा छ ।
धार्मिक भाष्य भन्छ
जहाँ अधर्मलाई
धर्मको लुगा लगाइन्छ
त्यहाँ कृष्ण
फेरि जन्मिनुपर्छ ।
तर कृष्ण बाहिर खोज्नु
व्यर्थ छ
आज कृष्ण
जनताको विवेक हो
यदि ऊ
जाग्न सक्छ भने ।
अब तिमी नै भन
राजा र प्रजा एक भए
भन्ने कुरा
जुवा चलिरहँदा
साँचो हुन्छ र ?

