पिँधबिनाका लोटाहरू
जति नै भरिए पनि
आफ्नो तौल धान्न सक्दैनन्
अडिएर रहन सक्दैनन् ।
आश्वासनमा छरिएका बाचा
र प्रतिबद्धताहरू अलिकति
हल्लिनासाथ आफैँ कोल्टिन्छन् ।
सभा-समारोह र भव्य मञ्चहरूमा
भरिने बुट्टेदार शब्दहरू
नीतिमा टिक्न सक्दैनन्
भाषणमा बगेका भावनाहरू
आचरणमा थामिन सक्दैनन्
त्यसैले त पानी पोखिएझैँ
कहिले विश्वास बग्छ
कहिले सम्भावना ।
तिनले बगाएको पानी
सधैँ सत्य हुँदैन
पोखिनु भने तिनको नियति हुन्छ ।
जनताका पसिनाले भरिएका
ती लोटाहरू जति नै स्थिर
भनेर टेबलमाथि राखे पनि
अलिकति सत्ता हल्लिँदा
कोल्टिएर पल्टिहाल्छन् ।
अनि पोखिन्छ
कहिले जातको नाममा
कहिले क्षेत्रका नाममा
र कहिले विकासको।
रङ्गीचङ्गी सपनाजस्तै देखिने
स्वार्थले जमेको फोहोर पानी
पिँध नभएरै होला ढल्किएको
त्यहाँ
न कुनै जिम्मेवारीको बोध हुन्छ
न नैतिकताको
न भयको, न लाजको।
यी लोटाहरू खाली हुनुमा होइन
पिँध नहुनुमा चिन्तित छन् ।
पिँधबिनाको भाँडो भरिन खोज्ने होइन
अडिएर जिम्मेवार हुनुपर्ने हो ।
र मेरो देश हरेकपटक
पोखिएको पानी पुछ्दै
नयाँ लोटा खोजिरहन्छ
बलियो पिँधसहितको ।

