साहित्यपोस्ट डट कम

कविता : पेन्सिल र जीवन

कविता : पेन्सिल र जीवन

जब म स्कुल जान थालेँ

कालोपाटी र खरी हुन्थे मसँग

दिनहरू एवम् रीतले बित्दै थिए ।

एक दिनको कुरा, हाम्रा गुरुले

एक–एक वटा पेन्सिल, कटर र कापी

थमाइदिनुभयो मेरो हातमा ।

एक्कासि ती चिजहरू देख्दा, अचम्मै परेँ म त !

तर अलिकति हिम्मत राखेरै सोधेँ उहाँसँग

“यी चिज केका लागि हुन् गुरु ?”

गुरुले मतर्फ मायालु भाव देखाउँदै

अनि हातको इसारासँगै भन्न थाल्नुभयो

“तिम्रो जीवनकालमा पनि नभई नहुने चिज हुन् यी ।”

गुरुले भन्नुभएको थियो

“पहिले यो पेन्सिललाई हेर त

काठको छ यसको बाहिरी आवरण ।

तर बाहिरी आवरण जेजस्तो भए पनि

तात्विक फरक पार्ने छैन यसको भित्री गुणलाई ।

यो काठभित्रको जुन सुइरो छ

विशेष अर्थ राख्नेछ यसको गुणले

किनकि आफ्नै गुणअनुसार लेख्नेछ यसले ।”

यसपछि अरू भनाइहरू पनि थप्दै जानुभयो गुरुले

“पेन्सिलले लेखेका वा कोरेका कुरा

सधैँ सत्य वा यथार्थ नै हुन्छन् भन्ने हुँदैन ।

लेख्ने क्रममा गल्ती गर्ने वा ठक्कर खाने अवस्था पनि उत्तिकै हुन्छ

तर त्यसो भयो भन्दैमा कदापि हरेस खाँदैन पेन्सिलले।

त्यसैले त, पेन्सिलको अर्को पट्टिको टुप्पोमा

मेट्ने कुरा (इरेजर) जोडिएको हुन्छ ।

अनि त्यही इरेजरको मद्दतले आफूले गरेका गल्तीहरू

मेट्दै र सच्याउँदै जानेछ पेन्सिलले ।”

गुरुले अलि लामो सास फेर्नुभयो, फेरि अथ्र्याउनुभयो

“लेख्दै जाँदा पेन्सिलको सुइरो खिइन सक्छ

अथवा टुप्पो भाँचिन वा बोधिन सक्छ

त्यही भएर त, कटरको सहायताले बेलाबेलामा ताछिन्छ यसलाई

तिखो पारिन्छ मिलाई–मिलाई ।

हण्डर खानु वा सचेत बन्नु नियतिजस्तै हो पेन्सिलको ।”

“अर्को महत्त्वपूर्ण कुरा

पेन्सिल एक्लैले अक्षर पार्न सक्दैन

हिँड्ने वा लेख्ने ठाउँ चाहिन्छ यसलाई ।

यो कापी त हो पेन्सिल अगाडि बढ्दै जाने बाटो

त्यसैले, पेन्सिलको यात्रा–गन्तव्य भन्दा पनि हुन्छ कापीलाई ।”

यसैबिच, अलि भावुक देखिनुभयो गुरु

“बाबु हेर! यही पेन्सिलको जस्तै हो तिम्रो जीवनयात्रा पनि।

भविष्यमा तिमीले आर्जन गर्ने ज्ञान, सिप र अनुभवहरू

लेखिँदै, मेटिँदै र ताछिँदै जानेछन् निरन्तर ।

यही क्रममा नै खिइएर सकिनेछ तिम्रो भौतिक शरीर पनि ।

तर नघबराऊ! अमर रहिरहनेछन्

तिमीले निष्ठा र सतर्कतापूर्वक कोरेका डोबहरू ।”

अहिले पनि यादमा छन्

सरले त्यो बेला भन्नुभएका यिनै उपदेशका कुरा

ती बालपनका कुरा !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.