देशमा लोकतन्त्र आयो रे
सबैले खुसी मनाए रे ।
पुराना एक राजा गए
अरू धेरै राजा आए थे ।
पहिले दरबार एउटै थियो
पछि दरबार हजार भए ।
देश जनताको नाम बेचेर
नेता परिवार धनी भए ।
चुनाव आउँदा गाली सुने
दुई हात झुक्दै जोडे ।
भोट पाएपछि पाँच वर्ष
जनता चिन्नै छोडे ।
विकास देखाए भाषणमा
युग गयो पाषाणमा ।
ग्यास, रेल र पानीजहाज आयो
त्यो पनि केवल आश्वासनमा ।
डोजर कुदे गाउँ–गाउँमा
गाउँ पर्यो भासमा ।
नक्कली विकास देखाउँदा
जनता परे आशमा ।
जनता परे त्रासमा
भ्रष्टाचार झन् मौलायो
यिनीहरूको आचरण देख्दा
लाज आफैँ लजायो ।
सत्य बोल्ने मान्छे खोज्दा
समाजले हाँसो उडायो ।
नैतिकता भन्ने कुरालाई
वास्तवमा डाँडा कटायो ।
युवा सबै विदेश उडे
सुन्दा आँखा रसायो ।
देश बनाउने सपना देखाउनेले
आफैँ पुच्छर लुकायो ।
कोही कोसी बेचेर टिके
कोही महाकली बेचेर टिके
कोही गण्डकी बेचेर टिके
कोही टनकपुर बेचेर टिके ।
जनताले एक दिन पर्खेका थे
जेन्जीले त्यो दिन ल्याए
अहिले जनताको सामु यिनले
परिवर्तन गरेर देखाए ।
जब साँढे पस्छ बारीमा
झार सबै नासिन्छ
छेउछाउमा भएका बाली
वास्तवमा त्यो केही मासिन्छ ।
खुट्टा चाहिन्छ इस्पातको
काँध चाहिन्छ बज्रको
पूरै आकाश थाम्नलाई
सक्दैन खुट्टाले हुटिट्याउँको ।
हेर्नु छ सागरको ज्वारभाट
यसको प्रभाव कस्तो छ
देश विकासको शिखर हेरौँ
अब कतिसम्म चुलिने छ ।

