उँचो शिर नेपालको तल-तल, झर्दै गएको हुँदा
आँसुको दह बन्न गो अविरल, धर्केर आमा रुँदा ।
चोटहरू अनगिन्ती छाती बीचका, निरीह भै रहिदिँदा
स्तब्ध भयो राष्ट्र आज जननी, भाव-विह्वल भैदिँदा।
सिर्जना हुन गो विषम परिस्थिति, अस्तित्व गुम्दै गयो
परनिर्भरता बढ्यो गरिबीले, शिखर चुम्दै गयो ।
जन्मेको भूमि रित्तियो दिन-दिनै, परदेशिँदा सन्तति
युवाका बहुमूल्य खुन-पसिना, विदेशीका सम्पत्ति ।
मरुभूमिमा परिणत भयो, उर्वर भूमि बाँझियो
शून्य कृषि उपार्जन भइदियो, आयातित गाँजियो ।
बाल-वृद्धहरू सहाराविहीन, अतालिँदा रातमा
भत्केका घर वन्यजन्तु सहजै, आइदिने साथमा ।
खोँच-कन्दरा जो बेवारिसे बने, सुके मूल पानीका
प्रतिक्षारत छन् ती सुन्दर छटा, प्राकृतिक खानिका ।
पुर्खाका धरोहर धराशायी बने, सुसंस्कृति मैलियो
भित्रिँदा परसंस्कृति र विकृति, विसङ्गति फैलियो ।
घाइते जननी लडिन् समीपमा, ढुकढुकीको सासले
गुहारी रहिछन् छटपटिसँगै, बचाउने त्यो आसले ।
हात जोडी शरण परिछन् जननी, सन्तानको पाउमा
दियो बाली पुकार्दछिन् हरघडी, वर्चस्व जोगाउन ।
चोटहरू अनगिन्ती छाती बीचका, निरीह भै सहिदिँदा
स्तब्ध भयो राष्ट्र आज जननी, भाव-विह्वल भैदिँदा ।
भागबण्डामा नै सीमित रहेर, सन्तानहरू अल्झँदा
खाटा बस्न नपाउँदै जननीका, घाउ पुनः बल्झिँदा ।
स्वर्गकी प्रतिबिम्ब हुन् यी जननी, विश्वमा पाउँछौँ कहाँ ?
महत्त्वहीन भैदिने अति ठुलो, विडम्बना भो यहाँ ।
उत्तरदायित्व बोध आमाप्रतिको, हुनु जरुरी यहाँ
अस्तित्वविहीन भएमा जननी, वात्सल्य पाउँछौ कहाँ ?
कहाँ भुल भयो कसोगरी चुक्यौँ, आफैँसँग सोध्नु छ
अन्धकारमा रुमलियौँ निकासको, बाटो आफैँ खोज्नु छ ।
शरणार्थी हुनेछौँ निश्चित यहाँ, यस्तै अवस्था रहे
रहुँला जीवित कसोगरीकन, पहिचानविहीन भए !
संयमता अपनाउनु उचित हो, सङ्कटको कालमा
दम्भमै अडिग रह्यौ यदि भने, पुगिन्छ बेहालमा ।
छोडौँ होड र बाजी एक-आपसको, विपत्तिको छ
घडी हातेमालो गरिकन अघि बढौँ, आत्मसमीक्षा गरी ।
त्यागी द्वेष र वैरभाव आपसका, निःस्वार्थी भै उठ्नु छ
आत्मा राखेर साक्षी सज्जनहरू, सत्कर्ममा जुट्नु छ ।
नराखीकन आत्मामा रतिभर, भावना सङ्कुचित
बुज्रुकहरू बीच सदैव एकता, कायम हुनु उचित ।

