साहित्यपोस्ट डट कम

कविता : परिस्थिति

कविता : परिस्थिति

उँचो शिर नेपालको तल-तल, झर्दै गएको हुँदा

आँसुको दह बन्न गो अविरल, धर्केर आमा रुँदा ।

चोटहरू अनगिन्ती छाती बीचका, निरीह भै रहिदिँदा

स्तब्ध भयो राष्ट्र आज जननी, भाव-विह्वल भैदिँदा।

सिर्जना हुन गो विषम परिस्थिति, अस्तित्व गुम्दै गयो

परनिर्भरता बढ्यो गरिबीले, शिखर चुम्दै गयो ।

जन्मेको भूमि रित्तियो दिन-दिनै, परदेशिँदा सन्तति

युवाका बहुमूल्य खुन-पसिना, विदेशीका सम्पत्ति ।

मरुभूमिमा परिणत भयो, उर्वर भूमि बाँझियो

शून्य कृषि उपार्जन भइदियो, आयातित गाँजियो ।

बाल-वृद्धहरू सहाराविहीन, अतालिँदा रातमा

भत्केका घर वन्यजन्तु सहजै, आइदिने साथमा ।

खोँच-कन्दरा जो बेवारिसे बने, सुके मूल पानीका

प्रतिक्षारत छन् ती सुन्दर छटा, प्राकृतिक खानिका ।

पुर्खाका धरोहर धराशायी बने, सुसंस्कृति मैलियो

भित्रिँदा परसंस्कृति र विकृति, विसङ्गति फैलियो ।

घाइते जननी लडिन् समीपमा, ढुकढुकीको सासले

गुहारी रहिछन् छटपटिसँगै, बचाउने त्यो आसले ।

हात जोडी शरण परिछन् जननी, सन्तानको पाउमा

दियो बाली पुकार्दछिन् हरघडी, वर्चस्व जोगाउन ।

चोटहरू अनगिन्ती छाती बीचका, निरीह भै सहिदिँदा

स्तब्ध भयो राष्ट्र आज जननी, भाव-विह्वल भैदिँदा ।

भागबण्डामा नै सीमित रहेर, सन्तानहरू अल्झँदा

खाटा बस्न नपाउँदै जननीका, घाउ पुनः बल्झिँदा ।

स्वर्गकी प्रतिबिम्ब हुन् यी जननी, विश्वमा पाउँछौँ कहाँ ?

महत्त्वहीन भैदिने अति ठुलो, विडम्बना भो यहाँ ।

उत्तरदायित्व बोध आमाप्रतिको, हुनु जरुरी यहाँ

अस्तित्वविहीन भएमा जननी, वात्सल्य पाउँछौ कहाँ ?

कहाँ भुल भयो कसोगरी चुक्यौँ, आफैँसँग सोध्नु छ

अन्धकारमा रुमलियौँ निकासको, बाटो आफैँ खोज्नु छ ।

शरणार्थी हुनेछौँ निश्चित यहाँ, यस्तै अवस्था रहे

रहुँला जीवित कसोगरीकन, पहिचानविहीन भए !

संयमता अपनाउनु उचित हो, सङ्कटको कालमा

दम्भमै अडिग रह्यौ यदि भने, पुगिन्छ बेहालमा ।

छोडौँ होड र बाजी एक-आपसको, विपत्तिको छ

घडी हातेमालो गरिकन अघि बढौँ, आत्मसमीक्षा गरी ।

त्यागी द्वेष र वैरभाव आपसका, निःस्वार्थी भै उठ्नु छ

आत्मा राखेर साक्षी सज्जनहरू, सत्कर्ममा जुट्नु छ ।

नराखीकन आत्मामा रतिभर, भावना सङ्कुचित

बुज्रुकहरू बीच सदैव एकता, कायम हुनु उचित ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.