पौरखको पसिनाले निथ्रुक्क भिजेको
गैँती र बेल्चाको पुरानो बिँड
समाउँदा–समाउँदा एक युग समय निलिसकेको पत्तै भएन ।
छियाछिया भएर चर्किएका हत्केला
फुटेर आफैँ निको भएका औँलाका घाउ
रड र ब्लकले थिचिएर
रङ फेरेर निलो भएको छ नङ ।
एक दिन एक्लै
आफूजत्तिकै ठूलो ऐनाअगाडि हेर्दा पो थाहा भयो
हात र नङ मात्रै होइन
सिङ्गो स्वरूप नै पो भिन्दै भइसकेको रहेछ !
छाम्न खोजेँ मनले मनलाई
स्पर्श गर्न खोजेँ भावले भावनालाई
आफू किन यस्तो भयो भनेर ।
खोइ कहाँ छ आफ्नो पहिलाको ‘आफू’ ?
के भएर भुल्न पुगेछु आफूले आफैँलाई ?
क्याम्पछेउमा फुल्दै गरेका खजुरका फूलहरूलाई हेर्छु कहिले
क्षितिजमा पुगेर डुब्न आँटेका घामहरू हेर्छु कहिले ।
पहाडै नभएका ठाउँमा जीवनको उकालो चढेर
माथि थुम्कीमा पुगेर ठिङ्ग उभिएर
उस्तै–उस्तै घरहरू भएको बस्तीमा हेर्छु
अपरिचित बस्तीमा हराएको आफूलाई खोजी हेर्छु ।
आफू पाउँदिनँ, आफूले आफैँलाई देख्दिनँ
एउटा परदेशमा हराएको जिन्दगी ।
बिरहको भाकामा सुसाउँदै गरेको
एउटा निरीह उदास साँझ
अन्तै कतैबाट माटो ल्याएर बनाएको क्याम्पछेउको बगैँचाको रूखमा
बास बस्न लागेको एक हुल चराहरूको बथान देख्दा
सम्झन्छु बेस्सरी छोडी आएको घर–परिवारलाई ।
बाल्कोनीको आडमा ढलिरहेको मैलो मेचमा बसेर नियाल्छु
पश्चिम क्षितिजमा डुब्न लागेको रातो घामलाई ।
डुब्न लागेको घामसँगै डुब्छु सम्झनाको गहिरो खोपिल्टोमा
जहाँ आफ्नाहरूमध्येका विशेष बा–आमालाई सम्झन्छु बेस्सरी ।
सम्झना र यादमा बाँचिरहेका सम्बन्धहरू
एक दिन, सम्झौतामा गाँसिएको प्रेमको फूल सुन्छु झरिगयो रे !
मन दुख्यो— बिछोडले बिछ्याइएको बगरमा
खबर छ्यापछ्याप्ती भएका छन् रे सञ्जालभरि ।
भञ्ज्याङ–देउराली, जसलाई साक्षी राखेर बाटेको थियो पिरतीको डोरी
दुःखी छन् रे तिनीहरू पनि ।
साखुल्ले पल्टेका जानी–दुश्मनहरू चाहिँ खुसी छन् रे अचेल ।
मेरो जिन्दगी, घरदेशदेखि परदेशसम्म बिटुलिएर बिग्रँदा
हराएको छ एउटा जिन्दगी परदेशमा ।
बेसहारा बनेको पुरानो अँगालोमा
मैले देख्न नखोजेको होइन नयाँ आलिङ्गन
तर मैले कतै नपुगिने बाटाहरूमा जान नदिएर निर्दोष भावनालाई
धरोधर्म मारिदिएँ मनमनै ।
अचेल— मेरा आँखा मात्रै होइन, आँसु पनि बिरामी भइसकेका छन् ।
मलाई थाहा छैन, ती आँसुका थोपाहरूलाई पनि थाहा छैन
कहाँ रुझ्नुपर्छ, कहाँ गएर सुक्नुपर्छ ?
कहाँ–कहाँ मात्रै खस्नुपर्ने हो ?
त्यो अपरिचित बाटोमा, त्यो निर्जीव नबोल्ने लाट्टो डाँडामा
त्यो भीर, त्यो पाखा, त्यो पखेरामा….
त्यो आँप र चाँप गाछीको फेदमा
या त्यो रातो गुराँस अथवा सेतो गुलाफको फेदमा ।
अस्थायी जिन्दगीमा चिरस्थायी स्वाभिमान राखेर बन्धकी
नहराएको कुरा खोज्दै छु, सिङ्गो आफू हराएर ।
प्रवासमा हराएको एउटा जिन्दगी !
कहिलेकाहीँ सोच्दा–सोच्दै सोचाइ शिथिल हुँदै कोमामा गएर लरबराउँछ ।
बिरहको बार्दलीमा बसी प्रश्न गर्छ जिन्दगीले
“तँ आफू हराएर–बिलाएर, आफ्नो मन मारेर के नापिस ?”
अस्थिर तिम्रा सपनाका बिरुवाहरू हुर्के–बढे
लागिसके आ–आफ्नो कुबाटो–दोबाटो हुँदै कताकता ।
आफू हराएर आफ्नाहरूलाई नहराऊन् भन्ने खेलमा
तिमीले पूर्णतः हार्यौ, तिम्रा ‘आफ्ना’ ले जिते ।
तर, उनको जितमा तिमीलाई सामेल गरेनन्, गर्दैनन् पनि ।
परिबन्ध, प्रारब्ध के भनौँ खै? दिने उत्तर छैन ।
त्यसैले अचेल मन रोएको छ
मस्तिष्क थाकेर मौनतामा डुबेको छ ।
समय घर्किसकेको छ
अब अन्तिम शाश्वत सत्य मृत्युको आगमनका निम्ति
दियो बालेर पर्खिरहेको चिहानडाँडाको चिता सम्झेर
बाँच्नु विवश हुँदै छ ।
मन बुझाउन सिपालु भएको छ
एउटा परदेशमा हराएको जिन्दगी ।

