साहित्यपोस्ट डट कम

कविता : परदेशमा हराएको जिन्दगी

कविता : परदेशमा हराएको जिन्दगी

पौरखको पसिनाले निथ्रुक्क भिजेको

गैँती र बेल्चाको पुरानो बिँड

समाउँदा–समाउँदा एक युग समय निलिसकेको पत्तै भएन ।

छियाछिया भएर चर्किएका हत्केला

फुटेर आफैँ निको भएका औँलाका घाउ

रड र ब्लकले थिचिएर

रङ फेरेर निलो भएको छ नङ ।

एक दिन एक्लै

आफूजत्तिकै ठूलो ऐनाअगाडि हेर्दा पो थाहा भयो

हात र नङ मात्रै होइन

सिङ्गो स्वरूप नै पो भिन्दै भइसकेको रहेछ !

छाम्न खोजेँ मनले मनलाई

स्पर्श गर्न खोजेँ भावले भावनालाई

आफू किन यस्तो भयो भनेर ।

खोइ कहाँ छ आफ्नो पहिलाको ‘आफू’ ?

के भएर भुल्न पुगेछु आफूले आफैँलाई ?

क्याम्पछेउमा फुल्दै गरेका खजुरका फूलहरूलाई हेर्छु कहिले

क्षितिजमा पुगेर डुब्न आँटेका घामहरू हेर्छु कहिले ।

पहाडै नभएका ठाउँमा जीवनको उकालो चढेर

माथि थुम्कीमा पुगेर ठिङ्ग उभिएर

उस्तै–उस्तै घरहरू भएको बस्तीमा हेर्छु

अपरिचित बस्तीमा हराएको आफूलाई खोजी हेर्छु ।

आफू पाउँदिनँ, आफूले आफैँलाई देख्दिनँ

एउटा परदेशमा हराएको जिन्दगी ।

बिरहको भाकामा सुसाउँदै गरेको

एउटा निरीह उदास साँझ

अन्तै कतैबाट माटो ल्याएर बनाएको क्याम्पछेउको बगैँचाको रूखमा

बास बस्न लागेको एक हुल चराहरूको बथान देख्दा

सम्झन्छु बेस्सरी छोडी आएको घर–परिवारलाई ।

बाल्कोनीको आडमा ढलिरहेको मैलो मेचमा बसेर नियाल्छु

पश्चिम क्षितिजमा डुब्न लागेको रातो घामलाई ।

डुब्न लागेको घामसँगै डुब्छु सम्झनाको गहिरो खोपिल्टोमा

जहाँ आफ्नाहरूमध्येका विशेष बा–आमालाई सम्झन्छु बेस्सरी ।

सम्झना र यादमा बाँचिरहेका सम्बन्धहरू

एक दिन, सम्झौतामा गाँसिएको प्रेमको फूल सुन्छु झरिगयो रे !

मन दुख्यो— बिछोडले बिछ्याइएको बगरमा

खबर छ्यापछ्याप्ती भएका छन् रे सञ्जालभरि ।

भञ्ज्याङ–देउराली, जसलाई साक्षी राखेर बाटेको थियो पिरतीको डोरी

दुःखी छन् रे तिनीहरू पनि ।

साखुल्ले पल्टेका जानी–दुश्मनहरू चाहिँ खुसी छन् रे अचेल ।

मेरो जिन्दगी, घरदेशदेखि परदेशसम्म बिटुलिएर बिग्रँदा

हराएको छ एउटा जिन्दगी परदेशमा ।

बेसहारा बनेको पुरानो अँगालोमा

मैले देख्न नखोजेको होइन नयाँ आलिङ्गन

तर मैले कतै नपुगिने बाटाहरूमा जान नदिएर निर्दोष भावनालाई

धरोधर्म मारिदिएँ मनमनै ।

अचेल— मेरा आँखा मात्रै होइन, आँसु पनि बिरामी भइसकेका छन् ।

मलाई थाहा छैन, ती आँसुका थोपाहरूलाई पनि थाहा छैन

कहाँ रुझ्नुपर्छ, कहाँ गएर सुक्नुपर्छ ?

कहाँ–कहाँ मात्रै खस्नुपर्ने हो ?

त्यो अपरिचित बाटोमा, त्यो निर्जीव नबोल्ने लाट्टो डाँडामा

त्यो भीर, त्यो पाखा, त्यो पखेरामा….

त्यो आँप र चाँप गाछीको फेदमा

या त्यो रातो गुराँस अथवा सेतो गुलाफको फेदमा ।

अस्थायी जिन्दगीमा चिरस्थायी स्वाभिमान राखेर बन्धकी

नहराएको कुरा खोज्दै छु, सिङ्गो आफू हराएर ।

प्रवासमा हराएको एउटा जिन्दगी !

कहिलेकाहीँ सोच्दा–सोच्दै सोचाइ शिथिल हुँदै कोमामा गएर लरबराउँछ ।

बिरहको बार्दलीमा बसी प्रश्न गर्छ जिन्दगीले

“तँ आफू हराएर–बिलाएर, आफ्नो मन मारेर के नापिस ?”

अस्थिर तिम्रा सपनाका बिरुवाहरू हुर्के–बढे

लागिसके आ–आफ्नो कुबाटो–दोबाटो हुँदै कताकता ।

आफू हराएर आफ्नाहरूलाई नहराऊन् भन्ने खेलमा

तिमीले पूर्णतः हार्यौ, तिम्रा ‘आफ्ना’ ले जिते ।

तर, उनको जितमा तिमीलाई सामेल गरेनन्, गर्दैनन् पनि ।

परिबन्ध, प्रारब्ध के भनौँ खै? दिने उत्तर छैन ।

त्यसैले अचेल मन रोएको छ

मस्तिष्क थाकेर मौनतामा डुबेको छ ।

समय घर्किसकेको छ

अब अन्तिम शाश्वत सत्य मृत्युको आगमनका निम्ति

दियो बालेर पर्खिरहेको चिहानडाँडाको चिता सम्झेर

बाँच्नु विवश हुँदै छ ।

मन बुझाउन सिपालु भएको छ

एउटा परदेशमा हराएको जिन्दगी ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.