साहित्यपोस्ट डट कम

कविता : परदेशमा हराएको मान्छे

कविता : परदेशमा हराएको मान्छे

सेताम्य हिउँभित्र

हिउँजस्तै चिसा रहरहरू घोल्दै

चिल्लो सडकमा

सपनाका पखेटाहरू बिछ्याएर

रङ्गीन बत्तीहरूको धिपधिपसँगै

ऊ हराइरहेछ परदेशतिर ।

सादा कल्पनाहरूको साधक ऊ

थन्क्याएर श्यामश्वेत आवरणलाई

झिकेर मनको पोल्टाबाट

निलो, रातो, हरियो, बैजनी रङहरू

कोरा क्यानभासमा

आफ्नै रङ्गीन आकृति कोरेर

आफैँलाई लुकाइरहेछ ।

उडान भर्ने बेलाको

सम्बन्धको कसिलो लगेज

थन्कायो कतै वा बिर्सियो ?

अतीतका ती नरम बाचाहरू

कङ्क्रिटको कठोर बस्तीभित्र

लुकायो कतै वा हरायो ?

बेचैनीका रातहरूले झस्काउँदा

उसको अनुपस्थितिले ओझेल परेका प्रियसीका सपनाहरू

निस्तब्धताको सङ्घारमा ओसिला बनेर

उसको आगमन कुरिरहेछन् ।

सबै चिज बिर्सिएर परदेशिएको ऊ

फर्किएला भन्ने के ठेगान ?

अनिश्चितताको हुलभित्र

फेरि एउटा कोरा सपना उसै गरी मिसिँदै ।

छैन उसको अनुमति

मानिस हराएको सूचना प्रकाशित गर्न

सुटुक्क हराउने खबर सुनाएरै

हराएको मान्छे ऊ

आफ्नै रहरले हराइरहेछ

सायद कतै

व्यस्तताको फुर्सदिलो भुमरीभित्र… ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.