सधैँ आफैँसँग भागिरहने
दुनियाँदेखि बेखबर
हामी पल्टैयाँ चरा हौँ
मौसम–बेमौसम
फगत घुस्रिरहन्छौँ
हिलाम्य सोताका
साना–साना दुलाहरूमा ।
जति नै टाढा–टाढासम्म
फैलियोस् स्वतन्त्रताको आकाश
हामीलाई आफ्नै साँघुरो सोता प्रिय छ
जति नै टाढा–टाढा
पुगोस् सपनाको गन्तव्य
हामीलाई आफ्नै हिलाम्य दुलो प्रिय छ
र, जति नै जोड–जोडले
कुदोस् स्वाभिमानको बतास
हामीलाई यही सोताको पराधीनता प्रिय छ ।
मानौँ हामीहरू
सधैँ–सधैँ जमिरहने
कुनै आदिम पोखरी हौँ
मानौँ हामीहरू
कहिल्यै पनि
हलचल नगर्ने
कुनै पहाडी फेदीको ढुङ्गा हौँ
मानौँ हामीहरू
हावाले जता लैजान्छ
चुपचाप उतै हिँडिरहने
कुनै मरुभूमिका बालुवाहरू हौँ ।
हामी पल्टैयाँ चरा हौँ
मौसम–बेमौसम
फगत घुस्रिरहन्छौँ
हिलाम्य सोताका
साना–साना दुलाहरूमा ।

