ऊ वर्षौँदेखि निरन्तर एउटै पहिरनमा बाँधिएको छ
आकाशलाई छानो, धरतीलाई ओछ्यान मानेर
जीवनका अध्यायहरू टपक्क सम्हाल्दै बसेको छ।
हावाहुरी उसका घरका भित्ता बनेका छन्
भोकको अर्थ उसको पसलमा चटक्क लेखिएको छ
निद्राको मूल्य उसले युगौँ अगाडि बुझिसकेको छ।
उसका आँखा सधैँ खुला रहन्छन्
तारा गन्दै बितेका अनगिन्ती रातहरूमा
औँला उसका क्रमशः भाँचिँदै जान्छन्
पैसा कमाउने दिनको प्रतीक्षामा
धनी कहलिने रिक्त आशामा ।
तर ऊ जान्दछ
यही पैसा हो
जसले धनी-गरिबका छुट्टाछुट्टै
छाया-रेखाहरू कोरेको छ
यसलाई कमाउनु भनेको फलाम चपाएसरह कठिन छ।
गरिबी पचाउनु र फलाम चपाउनु
उसका लागि एउटै पीडाका दुई रूप मात्र ।
सिरेटोले हान्दा, असिनाले पिट्दा मात्र उसले घर खोज्छ
अनि त्यसै क्षण आकाशलाई छोडेर केही क्षणको शरण माग्छ।
कानुनलाई ‘कानू’ देख्ने ऊ धनी-गरिबको भिन्नता टुटिएको क्षण हेर्न चाहन्छ
आवाज उठाउँछ, बुलन्द पार्छ, तर उसका स्वरहरू बिलाउँछन्
समुद्रमा झरेको एक थोपा जस्तै ।
हन्डर-ठक्करलाई ऊ जीवन ब्युँझाउने यन्त्र ठान्दछ
दमन, दबाब, अत्याचार र हिंसाप्रति उसको मनमा विशुद्ध घृणा मात्र छ।
स्वाभिमानले पैसा कमाउन चाहन्छ ऊ
किनकि उसलाई थाहा छ
पैसा भएको दिनको मस्ती के हो र पैसा नभएका क्षणको सास्ती कस्तो हुन्छ।
घामको राप र कठ्याङ्ग्रिने जाडो
उसका सहोदर शत्रुहरू जस्तै
जसले बारम्बार उसलाई मारिरहन्छन्
गलहत्याइरहन्छन् सधैँ, सधैँ ।
र ऊ अन्त्यमा प्रश्न गर्छ
पैसा कसले बनायो ? किन बनायो ?
किन त्यसले मानिसहरूलाई वर्ग-वर्गमा टुक्र्यायो ?

