साहित्यपोस्ट डट कम

कविता : पहाड

कविता : पहाड

किन रित्तो छ पहाड ?

हामी कसैको महत्त्वाकाङ्क्षी सपनाले कि मतलबी मायाले ?

कागजमा कोरिएका विकास एजेन्डाले

कि विदेशी अनुदानमा फस्टाउने पूँजीवादी चेतनाले ?

कि वर्गीय मुक्तिको भ्रान्तिमा जकडिएको साम्यवादी उत्तेजनाले ?

कसले रित्यायो हँ, पहाडलाई ?

रित्तै छ पहाड पानी रित्तिएको गाग्रीजस्तो ।

त्यो पहाड जहाँ अझै बगिरहेका छन् नदी

उस्तै मीठो सुसेली हालेर ।

उडिरहेको छ भुइँकुहिरो उस्तै लयमा,

चोखो प्रीति गाँसेर ।

फूलिरहेका छन् गुराँस र बुकी पाखाभरि

नाचिरहेका छन् डाँफे र मयुर डाँडाभरि ।

तर पहाडमा केवल शून्यता छ

गहिरो सन्नाटा छ ।

त्यसैले आजकल सुनिँदैन त्यहाँ गोठालाहरूको हाक्पारे

सुनिँदैन खेतालाहरूको बिनायो–मुर्चुङ्गा ।

न सुनिन्छ लैबरीको भाका सङ्क्रान्ति र पञ्चमी मेलामा

न देखिन्छ मायालु जोडी देउराली अनि हाटबजारमा ।

न भेटिन्छ चौतारीमा बात मार्दै गरेका गाउँलेहरू

न भेटिन्छ जोरबाटोमा भारी बिसाउँदै गरेका बटुवाहरू ।

पहाड मुर्झाएको छ

सायद उसको शिर ढलेको छ

पहाड थलिएको छ

सायद उसको विश्वास गलेको छ ।

पहाडलाई छैन सन्चो

सायद उसको सातो हराएको छ ।

केले छोयो पहाडलाई त्यसरी ?

सेहेँ लाग्यो कि, बिजुवालाई फुकाऊँ ?

देसान लाग्यो कि, वैद्यलाई बोलाऊँ ?

उता पहाडको काँचुली फेर्ने बहस

दशकौँदेखि चलिरहेकै छ सिंहदरबारमा ।

दाता राष्ट्रको गुरुयोजनामा छुट्टिएकै छ बजेट ।

न छुटेको छ पहाड नेताको भाषणमा

न घटेको छ पहाड सरकारको आश्वासनमा ।

चर्चा र चमक उस्तै छ बाहिर जस्तो थियो उहिल्यैदेखि ।

आकर्षण र विकर्षणको उस्तै छ जोड–घटाउ

जस्तो थियो पहिल्यैदेखि ।

यता पहाड भने भित्रभित्रै खोक्रिएको छ

बसाइँ हिँड्नेको लर्को देखेर झोक्रिएको छ ।

कहाँ हिँडेको ए युवाहरू !

पहाडलाई एक्लो पारेर ?

कता हिँडेको ए पाकाहरू !

गाउँ–बस्ती उजाड पारेर ?

सुन, छैन रित्तिएको पहाडमा अझैसम्म

आकाशजस्तै फराकिलो मान्छेको मन ।

पर्ख, छैन भत्किएको पहाडमा अझैसम्म

धर्तीजस्तै फाँटिलो मान्छेको हृदय ।

त्यसैले आऊ, मिलेर गरौँ ‘माङ्गेना’ पहाडको

उठाऔँ जुरुक्क पहाडलाई र राखौँ आफ्नो शिरमाथि ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.