साहित्यपोस्ट डट कम

कविता : निस्तब्धताको उज्यालो क्षण

कविता : निस्तब्धताको उज्यालो क्षण

हल्लाहरू थाकेर विश्राममा ढल्किएका छन्

नाराहरू आफ्नै प्रतिध्वनिमा विलीन

रङ्गिएका पर्खालहरू अब

समयका निस्तब्ध साक्षी मात्र ।

कोलाहल थामिएपछि मात्रै

फक्रिन्छ आत्माको सुमधुर स्वर

भीडबाट अलग्गै मनको भित्री आँगनमा

विवेकको दीप बिस्तारै प्रज्वलित हुन्छ ।

न बाजा, न ताली

न उन्माद, न उक्साहट

केवल आत्मासँगको निस्तब्ध संवाद

मनको तराजुमा तौलिँदै देशको भोलि ।

निस्तब्धता डरको छाया होइन

यो त स्वतन्त्रताको उज्यालो उत्सव हो

जहाँ हरेक नागरिक आफ्नो निर्णयमा

भविष्यको रेखा कोर्छ ।

एउटा मत सानो जस्तो देखिने

तर इतिहास मोड्ने शक्ति बोकेको

शान्त समय नदीमा तरङ्ग फैलाउने

जीवित डुङ्गा ।

निस्तब्ध अवधि केवल मौनता होइन

यो लोकतन्त्रको ध्यान हो

आशाको प्रार्थना, उत्तरदायित्वको उच्चतम क्षण ।

यही निस्तब्ध उज्यालोमा खुल्छ

अन्तरात्माको ढोका

र मतपत्रमा अङ्कित हुन्छ

शान्ति, न्याय र समृद्धिको साझा सपना ।

त्यसैले सुनौँ निस्तब्धताको आवाज

जो भीडभन्दा गहिरो, नाराभन्दा सत्य

इतिहासभन्दा दीर्घ

किनकि जब जनता निस्तब्ध हुन्छन्

त्यही क्षण लोकतन्त्र बोल्न थाल्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.