साहित्यपोस्ट डट कम

कविता : निर्वाचन

कविता : निर्वाचन

कुन हो हाम्रो सबैभन्दा बढी दुख्ने घाउ

र, कहाँ सुम्सुम्याउनु पर्छ दुखाई कम गर्न

उनीहरूलाई थाहा छ,

के-के हुन् आफैँले बिर्सन थालेका अधूरा हाम्रा सपना

र, कसरी बिउँताउन सकिन्छ फेरि तिनलाई

त्यो पनि उनीहरूलाई थाहा छ,

गाउँलाई के चाहिन्छ, उनीहरूलाई थाहा छ

र शहरलाई के चाहिन्छ,

त्यो पनि थाहा छ उनीहरूलाई,

हिमाललाई के चाहिन्छ,

उनीहरूलाई थाहा छ

र मधेशलाई के चाहिन्छ,

त्यो पनि थाहा छ उनीहरूलाई ।

वर्षोंदेखि गर्दै आएका छन्

उनीहरूले सपनाको थोक व्यापार

कस्तो हुनुपर्छ व्यापार रणनीति उनीहरूलाई थाहा छ

झुक्याउँदै आएका छन् हामीलाई पटक-पटक

फेरि झुक्याउन के गर्नुपर्छ उनीहरूलाई थाहा छ ।

सिपालु छन् उनीहरू

हावामा महल खडा गर्न सक्छन्

देखाउन सक्छन् दिनमा तारा वा रातमा इन्द्रेणी,

निर्माण गर्न सक्छन् उनीहरू

जादूगर झै नयाँ-नयाँ स्वप्न संसार क्षणक्षणमा

र, डोऱ्याउन सक्छन् कहिल्यै नभेटिने

क्षितिजको उज्यालोतिर हाम्रा पाइला ।

हामी सुम्पने छौं फेरि उनीहरूलाई

आफ्‌नो सोच्ने शक्ति

चढाउने छौं फेरि उनीहरूलाई

दुवै हातका बूढी औंला

चाहेको ठाउँमा ल्याप्चे लगाउने अधिकारसहित,

र साट्ने छौं एक पटक फेरि

उनीहरूले दिने उधारा सपनाहरूसँग

आफ्‌नो निर्णय गर्ने अधिकार ।

थरीथरीका टोपी लगाएर

चट्केहरू तयार भएका छन् खेल देखाउन

र खेल्न खेल अर्को पाँच वर्षसम्म पुग्ने गरी ।

ट्याग: अमर शाह
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.