पूर्वी क्षितिजबाट त्यो बिहान नयाँ उज्यालो किरण मुस्कुराएको थियो ।
त्यो उज्यालो केवल सूर्यको किरण थिएन
त्यो स्वतन्त्रताको सन्देश, लोकतन्त्रको घोडा बोकेको
आगोको ज्वालामुखी थियो
हावामा गीत गुन्जिएको थियो,
दिशामा सपना थियो, पखेटा फैलाएका चराहरू
नयाँ बाटो खोजिरहेका थिए
कलिला बालक निर्भीक स्कुल जाँदै थिए ।
आज कुनै साधारण दिन थिएन ।
आज नेपाल ‘सिंगापुर’ उत्सवमा डुबेको थियो ।
गल्ली–गल्ली, चोक–चोक, घर–घर ‘स्विट्जरल्याण्ड’ जस्तै देखियो
सबैतिर एकै नाम गुन्जिरहेको थियो
क्रान्तिकारी अनि जेलनेल सङ्घर्षले खारिएका नेताहरू चुनावमा !
ढोका अनि भित्ताहरू रङ्गीचङ्गी धजापताकाले सजाइएका थिए
आशीर्वाद बाँडिएका थिए, सांस्कृतिक रङ्गहरू मिसिएका थिए
सोरठी नाचमा नारीले मादल घन्काउँदै, दोहोरी गीत
दिदीबहिनीको बीचमा नेताजी !
देउडा अनि बालुन, श्रीकृष्णको भजन, नेताको भक्ति
सबै एकै स्वरमा मिसिएको थियो
नेपालको स्वतन्त्रता अनि गणतन्त्रको गीत
सीमा अनि जङ्गे पिलरको सुरक्षाको गीत ।
त्यो दिन केवल नेताजीको जन्मदिन थिएन
त्यो बलिदानको पर्व थियो, लोकतन्त्रको उत्सव थियो
त्यो दिन नेताजीको ‘पाथीदान’को कथा पनि थियो ।
तर त्यो पाथीदान साधारण दान थिएन ।
एक जमानामा नेताजीको ‘टाउको दान’ मात्र थिएन
त्यहाँ एउटा विचार थियो, एउटा चेतना थियो
एउटा राष्ट्र निर्माणको कथा थियो
एउटा क्रान्ति गुन्जिएको थियो ।
अर्को बराबरी पाथीमा
सुन, चाँदी, रत्न, आभूषण, जनताको जीवनभरको कमाइ
आमाको ममता, छोरीको सपना, विधवाको आँसु, युवतीको भविष्य
सबै–सबै चढाइँदै थियो ।
बुढी आमाले आफ्नो जीवनको सबै धन चढाइन्
दिदीले कानको मुन्द्री निकालिन्, युवतीले सौभाग्यको चिह्न खोलिन्,
विधवाले आफ्नो पीडा, सिन्दूर, टीका र पोतेलाई नै बलिदान बनाइन् ।
हरेक गहनासँगै एउटा कथा आयो
हरेक कथासँगै एउटा बलिदान
हरेक बलिदानको कथा कहिलेसम्म भन्ने
अहम् प्रश्न पनि !
तर पाथीदान अझै बराबर भएन ।
किनभने नेताजी कुनै शरीर मात्र थिएनन्
उनी त विचारको कुन्ज थिए
उनी आफैँमा आन्दोलन थिए
उनी भविष्य अनि वर्तमा
उनी त देशमा
सिंगापुर, स्विट्जरल्याण्ड, युरोप र अमेरिका मात्र कहाँ हो र
पानीजहाज बोकेर ल्याउन सक्ने पहलवान
सबै क्षमता भएका क्षमतावान् !
अन्त्यतः एक वृद्ध आए
हातमा एउटा छोराको फोटो थियो ।
त्यो फोटो कुनै साधारण फोटो थिएन,
त्यो फाँसी चढेका शहीद छोराको थियो
त्यो बलिदानको मूर्ति थियो ।
उनले भने
“नेताजी ! मेरो छोराले मातृभूमिका लागि प्राण दियो
आज म उसकै तस्बिर पाथीमा चढाउँछु ।
एउटा छोरो सेल्टरमा थला परेको छ
अर्को आर्मी ब्यारेकमा, छोरी बेपत्ता भइन्
बुढी मूर्छा परेकी उठ्दै उठिनन्
यदि अरू पनि सन्तान हुन्थे भने
त्यो पनि नेपाल आमाको चरणमा अर्पण गर्थें ।”
त्यो तस्बिर पाथीमा राखिँदै गर्दा पनि पाथी बराबर भएन ।
काँटा शान्त भएन, इतिहास स्थिर त भयो
नेपाल आमा खुसी त भइन्
तर नेताजी अझै खुसी भएनन् ।
नेताजी उठे, उनले वृद्धलाई नमन त गरे
कौटिल्य हाँसो’ ओठमा छर्दै नेताजीले भने
“बा ! नेपाल आमा तिमीहरूजस्ता बा–आमाहरूको बलिदान पाएर बाँचेको हो ।
देश तिमीहरूको आँसुबाट बनेको हो
लोकतन्त्र तिमीहरूको छातीको आगोबाट जन्मेको हो
त्योभन्दा ठुलो कुरा त हामीले ज्यानको बाजी लगाएर जेल गयौँ
त्यसैले त तपाईं–हामी रजाइँ गर्दै छौँ ।”
त्यो दिन पनि पाथी केवल बराबर भएन
इतिहास बराबर भएन, सङ्घर्ष बराबर भएन
बलिदान बराबर भएन
नेताजीहरू अझै भोका, नाङ्गा अनि निरीह थिए ।
जब नेताजीहरू खुसी रहनेछन्
त्यो क्षणबाट देशको प्रजातन्त्र अनि गणतन्त्र कल्पना मात्र रहने छैन
भाग्य बन्नेछ, सपना पूरा हुनेछ ।
एउटा सङ्कल्प गरौँ, नारा बनाऔँ, इतिहास बनाऔँ
नेताको सपना पूरा गरौँ, पाथीमाथि जनताले भरौँ !

