नयाँ साल जोडियो फेरि !
कयौँ सपनाहरू
केही सम्बन्धहरू फेरि छोडियो ।
हर्षोल्लासले मनाएको पौरको नयाँ दिन पुरानो भयो ।
नयाँ विचार र नयाँ काम गर्ने लिएका वाचाहरू सकिए।
घातक सुराका घुट्का नपिउने झुटा कसम सकिए
वर्षभरि बेहोसीमा फेरि बदनाम भइयो।
गाउँले बिर्सियो, सहरले बेनाम बनायो
फेरि नयाँ साल जोडियो ।
नयाँ मोडमा त्यही पुराना सम्झनाहरू भेट्टाइयो ।
पुरानो भित्तामा नयाँ क्यालेन्डर टाँगियो ।
भाडामा बसेको कोठाको म्याद सकियो ।
त्यहाँका एक वर्षे छिमेकी छोडिए
दूधवाला, अखबारवाला
छेउको मनिहारी दोकान छोडियो ।
फेरि नयाँ सालमा धेरै सपनाहरू लिएर
अन्य कतै सरियो ।
नयाँ घुम्तीहरूमा त्यही सताइरहने याद पाइयो ।
बाँधेर राख्नु पाप रहेछ
खुल्ला छोडिदिँदा लागेको दाग नमेटिने गहिरो पाइयो।
को नै अमर र अजर रहेछ यहाँ ?
बेलुकी अङ्कमाल गरेर छुट्टिएका
कति आत्मीयहरू बिहानीको खबरले
परलोक भएको सुनायो ।
आवश्यक पर्दा रात बिताउन आएका
आफन्तहरू पिठ्यूँ देखाएर फर्किएको देखियो ।
फूलजस्तै थिए कति सम्बन्धहरू,
तासको महलझैँ एकाएक ध्वस्त भएको देखियो ।
माया–मोहका कुरा सबै कृत्रिम भए।
विज्ञानको उन्नतिले मानव–भाव अब सङ्कटमा देखियो।
सञ्जालमा धेरै मित्रहरू हराए
कतिलाई आफैँले बिदा गरियो ।
नयाँ त जाल रहेछ दुनियाँको,
हाँसेको मुहार हेरेर
मुटुमा छुरा रोपेको पनि देख्न पाइयो।
नयाँ सालको भन्नु नै पुराना दिनहरू छोडिनु रहेछ ।
सपनाहरू थपिनु रहेछ ।
नयाँ यात्राको तय हुनु रहेछ ।
सबै सम्हालेर आफैँलाई विश्वास गर्नु रहेछ ।

