पोहोरोझैँ यसपालि पनि
शुभेच्छाका फूल बर्सिए
भोलिको बिहान
मायाको घाम बोकेर आओस् भन्ने
उही पुरानो कामना ।
गिलासहरू ठोकिए
धुनहरू गुन्जिए
कम्मरहरू लच्किए
र रात गहिरिँदै जाँदा
कसिएका हातहरू
टाँकघरबाट निस्केको टाँकझैँ
चुपचाप फुस्किए ।
साथीभाइ गएलगत्तै
मलाई अनुभूति भयो
आउनेहरूको सत्कारमा
जानेहरू सधैँझैँ
ओझेलमा परे ।
अफसोस !
बिदा भएको वर्षलाई
हामीले प्रशंसा गर्नु त परै जाओस्
साधुवादसम्म पनि
भन्न भ्याएनौँ ।
निर्मल सङ्कल्प बोकेको
विशाल जेन–जी लहरमाथि
निर्मम गोली बर्सिँदा
रगतले लत्पतिएका
जेन–जी जुत्तामा
आँखा अड्याएर
भक्कानिँदै रोइरहेका
आमाबुबाहरूको
दारुण पीडा
तिमीले कसरी सह्यौ होला ?
देश हताश भएको त्यो पल
सिंहदरबारको झ्यालबाट
उठेको धुवाँको मुस्लो
र विरासतहरूमा
सल्किएको आगो
तिमीले कसरी निभायौ होला ?
अन्धा शासक
र बहिरो नैतिकताको भारी
तिमीले थाप्लोमा
कसरी बोक्यौ होला ?
देशको सम्पत्तिमा
आगो झोस्ने
ती हनुमानका पुच्छरमा समेत
देशभक्तिको फुर्को बाँध्न
नछोड्ने
छेपारे राष्ट्रवाद
तिमीले कसरी झेल्यौ होला ?
हो, बितेको वर्ष !
तिमी नभएको भए
विभाजनको विषले
माटो नीलो हुँदा
आशाका दुबोहरू
बचाइराख्ने
अरू को हुन्थ्यो ?
त्यसैले त भनिन्छ
समय बलवान् छ ।
तिमी महान् अश्व रहेछौ
एउटा अथक धावक रहेछौ
जसले युवाहरूको
सुशासनको सपना
र समृद्धिको उज्यालो
नयाँ वर्षको हातमा
सकुशल सुम्पेर गयौ ।
नेपाल आमा,
विश्वशिखर सगरमाथा
अमूर्त सपूतहरू
र जेन–जी पुस्ता
नयाँ वर्षको आँगनमा
लहरै उभिएर
तिमीलाई सलाम गरिरहेका छन् ।
र,
मेरो मन
अनवरत
तिमीलाई
साधुवाद दिइरहेको छ ।

