सरकार पटक–पटक
फेरिए जस्तै
पटक–पटक आउँछ नयाँ वर्ष
सरकारमा रहनेलाई !
सरकारमा प्रधानमन्त्री को छ ?
नयाँ वर्ष कुन महिनामा आउँछ ?
त्यो थाहा नहुने जनतालाई
सरकार फेरिएको पनि थाहा छैन
नयाँ वर्ष आएको पनि थाहा छैन ।
थाहा छ त
बिहान सूर्योदयसँगै
सूर्यको जस्तै ताप र गर्मी
शरीरमा नल्याएसम्म
भोकभोकै रहने !
नयाँ वर्षमा
घर–घरमा क्यालेन्डर फेरिए जस्तै
सरकार पनि फेरिरहने
तर जनताको दिनचर्या फेरिएन ।
नयाँ वर्ष मनाउनेहरूले
गरेको सुरुचि भोज–पार्टीमा
उनीहरूले खाएको थाल मस्काउँदै
टल्किएको थालमा
आफ्नो अनुहार खोज्दै
त्यो थालमा हेर्छन् अनुहार
फेरियो कि फेरिएन ?
टल्कियो कि टल्किएन ?
अनुहार त्यो थालमा खोज्छन् !
रङ्गीन सहरमा हुर्कने
सम्भ्रान्त परिवारमा
नव वर्षको शुभकामना आदान–प्रदान हुँदै गर्दा
हातमा कोदालो, बेल्चा
जोत्नलाई हलगोरु लिएर निस्कँदा
साँझ घर नपुगेसम्म
परिवारमा सधैँ समवेदनाको भय !
अरूले मनाएको नयाँ वर्षमा
उनीहरूको हाँसोमा
आफू पनि ओठ च्यातिएर भए पनि हाँस्नुपर्ने
उनीहरूको सुखमा
आफ्नो दुःख बिर्सनुपर्ने नियति
यसो गरिएन भने
दुःखै–दुःखको वर्षा हुन्छ !

