हुन त तिमी हाम्रो संस्कार नै भने पनि हुन्छ
आमा पट्टी वा बाबु पट्टीको जे भने पनि हुन्छ ।
हामी तिमीलाई आफ्नै साख्य ठान्छौ र मान्छौ
तिमी त वर्षमा बल्लतल्ल एक पटक आउँछौ ।
तर चिन्दै नचिनिने गरी आउँछौ
गुन्यू–चोली पनि लाउन बिर्सिएछौ
दौरा–सुरुवाल पनि चट्टै बिर्सिएछौ ।
लहरो पहिरन छ्याँ–छ्याँ–छ्याँ
तिमीतिर त झन् हेर्नै नहुने बनेर आउँछौ
तिमी त पुरै छाडा भएर आउँछौ ।
तिमीले त वर्षको एक दिन पक्कै
गुन्द्रुक, मकैको ढिँडोमा मही हाली
स्वाम–स्वाम पार्दै हामीसँग रमाइलो
गर्छौ, सधैँ लाग्ने गर्छ ।
तर, तिम्रो पाइला त महलमा पुगेर
थ्री–स्टार, फाइभ–स्टार, सेभेन–स्टार नाच्दै
मटन, चिकेन–तन्दुरी हुँदै
ब्रान्डेड वाइन र ह्विस्कीतिर आँखा जान्छन् ।
यसपालि पनि तिम्रो
कत्ति पनि भरोसा लाग्दैन
तिमीलाई धेरै पटक भरोसा गरियो ।
कम्तीमा गरिबका झ्यालतिर
यसो चुस्स च्याउँदै आएको भए हुन्थ्यो !
तर पटक–पटक धोका मात्र पाइयो
तिमीले त स्याल, हुँडार
अवसरवादी र स्वार्थवादीहरूलाई
मात्र आफ्नो गन्तव्य सधैँ रोज्यौ ।
तर यस पटक त पक्कै
तिमीले गरिब, निमुखाहरूको आँखामा
खुसीको समुद्र ल्याई ओतप्रोत
गर्नेछौ भन्ने पूर्ण आशा लिएको छु ।
जय होस् तिम्रो नयाँ वर्ष !
जय होस् नेपालीको नयाँ वर्ष !

