साहित्यपोस्ट डट कम

कविता : नयाँ वर्ष

कविता : नयाँ वर्ष

हुन त तिमी हाम्रो संस्कार नै भने पनि हुन्छ

आमा पट्टी वा बाबु पट्टीको जे भने पनि हुन्छ ।

हामी तिमीलाई आफ्नै साख्य ठान्छौ र मान्छौ

तिमी त वर्षमा बल्लतल्ल एक पटक आउँछौ ।

तर चिन्दै नचिनिने गरी आउँछौ

गुन्यू–चोली पनि लाउन बिर्सिएछौ

दौरा–सुरुवाल पनि चट्टै बिर्सिएछौ ।

लहरो पहिरन छ्याँ–छ्याँ–छ्याँ

तिमीतिर त झन् हेर्नै नहुने बनेर आउँछौ

तिमी त पुरै छाडा भएर आउँछौ ।

तिमीले त वर्षको एक दिन पक्कै

गुन्द्रुक, मकैको ढिँडोमा मही हाली

स्वाम–स्वाम पार्दै हामीसँग रमाइलो

गर्छौ, सधैँ लाग्ने गर्छ ।

तर, तिम्रो पाइला त महलमा पुगेर

थ्री–स्टार, फाइभ–स्टार, सेभेन–स्टार नाच्दै

मटन, चिकेन–तन्दुरी हुँदै

ब्रान्डेड वाइन र ह्विस्कीतिर आँखा जान्छन् ।

यसपालि पनि तिम्रो

कत्ति पनि भरोसा लाग्दैन

तिमीलाई धेरै पटक भरोसा गरियो ।

कम्तीमा गरिबका झ्यालतिर

यसो चुस्स च्याउँदै आएको भए हुन्थ्यो !

तर पटक–पटक धोका मात्र पाइयो

तिमीले त स्याल, हुँडार

अवसरवादी र स्वार्थवादीहरूलाई

मात्र आफ्नो गन्तव्य सधैँ रोज्यौ ।

तर यस पटक त पक्कै

तिमीले गरिब, निमुखाहरूको आँखामा

खुसीको समुद्र ल्याई ओतप्रोत

गर्नेछौ भन्ने पूर्ण आशा लिएको छु ।

जय होस् तिम्रो नयाँ वर्ष !

जय होस् नेपालीको नयाँ वर्ष !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.