तिमीले नबोल्दा पनि
मैले छोडेकी छैन
मनाउँदै तिमीसँग बोल्न ।
यो नाता
त्यति कमजोर लाग्दैन
कि तिम्रो क्षणिक बेवास्तामा
म टुटुँ हठात्
तिम्रो उपेक्षामा खिन्न भई
तिमीदेखि टाढिऊँ
र तिमीलाई बिर्सुँ सजिलै !
तिमी रिसाउँदा
हो, म उदास हुन्छु
बोकी नसक्नु एक्लोपनाको भारी
उराठ लाग्छ मलाई ।
रित्तिन्छु म
मभित्र गुञ्जन्छ
केवल मेरो न्यास्रोको प्रतिध्वनि ।
बानी परिसकेको यो सान्निध्य
तिमीसँगको उठबस
लत लागेको छ
तिमीलाई सुन्नु, सुनाउनु
बिना झर्को धैर्यता
यही निको लाग्छ मलाई ।
तिमीसँगको संवाद
सिर्जना मेरो
उच्छ्वास र परिकल्पनामा
अन्तरङ्ग तिमी ।
कैलेकाहीँको तिम्रो यो रुष्टता
मेरो वाणी हर्छ
शब्दविहीन हुन्छु
मभित्रको आकाश खाली हुन्छ ।
त्यसैले
मेरो परिचयको पूर्णता
मलाई सार्थक बनाउने अक्षर
तिमीसँगको मेरो नाता
धेरै पुरानो छ, प्रगाढ छ, परिपक्व छ ।

