साहित्यपोस्ट डट कम

कविता : नाता

कविता : नाता

तिमीले नबोल्दा पनि

मैले छोडेकी छैन

मनाउँदै तिमीसँग बोल्न ।

यो नाता

त्यति कमजोर लाग्दैन

कि तिम्रो क्षणिक बेवास्तामा

म टुटुँ हठात्

तिम्रो उपेक्षामा खिन्न भई

तिमीदेखि टाढिऊँ

र तिमीलाई बिर्सुँ सजिलै !

तिमी रिसाउँदा

हो, म उदास हुन्छु

बोकी नसक्नु एक्लोपनाको भारी

उराठ लाग्छ मलाई ।

रित्तिन्छु म

मभित्र गुञ्जन्छ

केवल मेरो न्यास्रोको प्रतिध्वनि ।

बानी परिसकेको यो सान्निध्य

तिमीसँगको उठबस

लत लागेको छ

तिमीलाई सुन्नु, सुनाउनु

बिना झर्को धैर्यता

यही निको लाग्छ मलाई ।

तिमीसँगको संवाद

सिर्जना मेरो

उच्छ्वास र परिकल्पनामा

अन्तरङ्ग तिमी ।

कैलेकाहीँको तिम्रो यो रुष्टता

मेरो वाणी हर्छ

शब्दविहीन हुन्छु

मभित्रको आकाश खाली हुन्छ ।

त्यसैले

मेरो परिचयको पूर्णता

मलाई सार्थक बनाउने अक्षर

तिमीसँगको मेरो नाता

धेरै पुरानो छ, प्रगाढ छ, परिपक्व छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.