साहित्यपोस्ट डट कम

कविता : नशालु साँझ

कविता : नशालु साँझ

नेवारी भोजको त्यो साँझ

छ्याङको झुमझुम

रक्सीभन्दा गहिरो नशा ।

झिलिमिली बत्तीले

तिनको गालामा परेको उज्यालो

मेरो मनभित्र आगो बनेर छिर्‍यो ।

तिनको लाल सारीको घेरा

हावासँग खेल्दा

मेरो हृदयको चाल बढायो ।

तिनको हिँडाइको चाल

बिस्तारै बग्ने समुद्रजस्तै

तर भित्रभित्रै गहिरो वेग ।

जब म तिनको नजिक पुगेँ

सोचेँ छुनु मात्र प्राप्ति होइन ।

त्यो न्यानो आभा

उनको कपालबाट आएको सुगन्धलाई

आफ्नो सासमा मिसाउन थालेँ ।

मेरो चाहना केवल शरीर थिएन

तर शरीरबाटै सुरु भयो

आँखाबाट ओठसम्म झर्ने अदृश्य कम्पन

ओठमा रोकिन खोज्ने शब्द

तर मनमै पग्लिएको बोल्ने साहस।

जब तिनको मुस्कानले

मेरो छातीमा हल्का ऐहसास छायो

जसरी चिसो रातमा

अचानक कसैले न्यानो घुम्टो ओढाइदियोस् ।

र त्यो क्षण

जब नजर एकअर्कामा अड्कियो

मनले चाह्यो समय नै अडकियोस् ।

स्पर्श भएन

तर स्पर्शभन्दा गहिरो

विद्युतीय तरङ्ग बग्यो शरीरभरि ।

त्यो नेवारी भोजमा

खाना, रक्सी, हाँसो सब आफ्नै ठाउँमा थिए

तर मेरो अन्तस्करणभित्र

गोप्य आगो बलिरहेको थियो

उनीसँग नजिकिने चाह ।

त्यो साँझ

वासना र मायावी आकर्षणको

सीमारेखामा उभिएँ म

जहाँ आँखा बोल्छ

सासको गति बढ्छ ।

त्यो नशालु साँझबीच

मैले बुझेँ

कामुकता जब कविताजस्तै बग्छ

त्यो अश्लील हुँदैन

बरु वासनाको आगोभित्र लुकेको

मधुर उज्यालो बन्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.