साहित्यपोस्ट डट कम

कविता : नपढेको छोरो

कविता : नपढेको छोरो

पढेको छोरो दस वर्षदेखि साथ छैन

प्लस टु पढ्न गाउँ छोड्यो

ब्याचलर गर्न सहर झर्‍यो ।

अहिले जागिर गर्न घरबाट

टाढा एक्लै बस्दै छ ।

बन्नुपर्छ, गर्नुपर्छ भनेर सिकाएको मैले नै हो ।

ठुलो विश्वास र उठाउन नसकिने भारी बोकेर होला

आज घर चिन्न जानेन उसले ।

नपढेको छोरो घरमै छ

सँगै छ! दुःख–सुख हुँदा हात बटार्छ

सन्चो–बिसन्चो हुँदा हात डोर्‍याएर हिँड्छ।

चुलोचौको गर्छ, घर स्याहार्छ

घरको इज्जत बनेको छ ।

आफ्नी आमाको चिन्ता

विश्वासिलो पात्र अनि ‘नानी’ बनेको छ ।

हरेक पटक घर एक्लै हुँदा उ छ

ऊसँग घर छ र पो घर सुन्दर बनेको छ।

बा भन्नुहुन्छ होला सायद

छोरो पढाऊँ साथ हुन्न

नपढाऊँ इज्जत हुन्न ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.