साहित्यपोस्ट डट कम

कविता : नाङ्गो नाच

कविता : नाङ्गो नाच

झर्ला र खाऊँला

म पनि केही पाऊँला

दसैँ मनाऊँला

भन्ने आशामा बसेका हुँडार, स्याल र ब्वाँसाहरू

सिंहको छाला ओढ्ने प्रयास गर्दै

आज चलमलाएका छन्

जब तिनका अवैध सन्ततिमा कानुनको लट्ठी बज्रियो

आफ्नो क्षमतामा भरोसा नहुनेहरू

दयाको भिख माग्दै दौडेका छन्

तिनै आफ्ना अप्राकृतिक पुर्खाको घरदैलोमा ।

जस्केलाबाट छिरेका नायक र

अवैध सन्ततिको मोहले ग्रसित असुरहरू

सन्ततिको रक्षा गर्ने झुटो कसम खाँदै

आसुरी शक्तिको वरदान पाएर

आफूलाई समाज सञ्चालनका ठेकेदार ठानेका छन्

र राक्षसी अट्टहास गर्दै

विरासत जोगाउँछौ भन्ने नारासहित

भव्य धरोहरको आँगनमा भेला भएका छन् ।

आफ्नो अक्षमताले भुत्ते भएको

घृणाको गैँतीले जगमा प्रहार गर्दैछन्

जस्केलाका नायक

अप्राकृतिक राक्षसी पुर्खा र तिनका अवैध सन्तान

देखाउँदै गुण्डाराज र आसुरी अट्टहाससहितको

नाङ्गो नाच ।

गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ

विधान उत्तानो पल्टेको छ

नियम च्यातिएका छन्

कानून मूकदर्शक बनेको छ

धरोहरका लाचार पहरेदारहरू

बन्दकोठामा निस्सासिएका छन्

र राक्षसी नाङ्गो नाच हेर्न बाध्य छन्

मसिहाको पर्खाइमा ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.